१४ बैशाख, काठमाडौं । स्वास्थ्य मन्त्रालयले लामो विदा बसेका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई तुरून्त कार्यालयमा हाजिर हुन भन्दै पत्राचार गर्ने निर्णय गरेको छ ।
मन्त्रालयको स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रले देशका सबै अस्पतालहरूलाई मंगलबार एक पत्र पठाएको छ । उक्त पत्रमा लामो विदामा बसेका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई तुरून्त कार्यालयमा हाजिर हुन भनिएको छ ।
यस्तै कार्यरत जनशक्ति मध्ये ५० प्रतिशत जनशक्तिको पालो निर्धारण गरी सेवा दिने व्यवस्था गर्ने निर्णय पनि भएको छ । त्यस्तै, कुनै पनि चिकित्सक तथा स्वास्थ्यकर्मीलाई लामो बिदा नदिन पनि भनिएको छ ।
यस्तै अस्पतालको स्वीकृत दरबन्दीअनुसार कुनै पद रिक्त भएमा तत्काल जनशक्ति व्यवस्थापन गर्ने निर्णय पनि बैठकले गरेको छ । त्यसका लागि ६ महिनाको करार सेवामा लिने व्यवस्था मिलाइनेछ ।
प्रतिक्रिया दिनुहोस