मुख्य समाचार

वामदेव–ओली भेटमा किन छिरे महन्थ र देउवा ?

gautam oli

१५ वैशाख, काठमाडौं । गत बिहीबार साँझ प्रधानमन्त्रीनिवास बालुवाटारमा नेकपा अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष वामदेव गौतमबीच भेट हुँदा गजब गजबका प्रसंग निस्किएका छन् ।

डिनरअघि बैठक कोठामा कुरा हुँदा एउटा प्रसंगमा गौतमले भनेका थिए– ‘हेर्नुस् कमरेड, सर्वोच्चले एमाले ब्युँताइदिएर ०७५ जेठ २ गतेको अवस्थामा पु¥याइदियो । तपाईंको चाहना पनि त्यही थियो । मैले पनि सबैभन्दा पहिले विज्ञप्ति जारी गरेर ज्यादै राम्रो निर्णय भयो भनेकै हो । तर, भोलिपल्टदेखि तपाईंले बदला लिन थाल्नुभयो । त्यसपछि समर्थन गर्नु बेकार रहेछ भन्ने मलाई पनि प¥यो । सर्वोच्चले गरिदिएको नेकपा विभाजनका घटनाक्रम जोडेर हेर्दा सबै निर्देशित ढंगले भएका हुन् र त्यसमा कुनै न कुनै किसिमको लेनदेन भएको देखिन्छ । तैपनि, यसलाई सकारात्मक रूपमा लैजान जसरी म तयार छु, त्यसैगरी माधवहरू पनि तयार छन् ।’

गौतमको विश्लेषण सुनेपछि प्रधानमन्त्रीले कडा शब्दमा ‘त्यसोभए उनीहरूले समानान्तर संगठन सञ्चालन किन गरेको ?’ भनेर सोधे ।

गौतमले राजनीतिको भित्री कुरा खोल्दै भन्न थाले, ‘विद्रोही भएपछि समानान्तर हुन्छ अनि पछि विभाजन हुन्छ । विभाजनको आफ्नै तयारी हुन्छ । पार्टीभित्र जिम्मेवारहरूले सहमति नगर्ने हो भने विद्रोहीलाई पदको कुनै लोभ हुँदैन । सांसद पद गए जान्छ । पार्टीका पद पनि गए जान्छ तर हामी कसैको टाङमुनि छिर्दैनौं भन्नेलाई जिम्मेवारी लिएकाले सिध्याउन खोज्छ भने त्यो सरासर गलत हो ।’

गौतमको कुरा सुनेपछि प्रधानमन्त्रीको पारो चढ्यो । अनि उनले स्पष्ट शब्दमा भने, ‘म फागुन २८ को निर्णय फिर्ता लिन सक्दिनँ । त्यो केन्द्रीय समितिको निर्णय हो, सबैले मान्नुपर्छ ।’

प्रधानमन्त्री झन् दृढ भएपछि गौतमले पनि कडा शब्दमा आफ्ना धारणा राखेको स्रोतको दाबी छ । गौतमले दिएको सुझाव उल्लेख गर्दै स्रोत भन्छ, ‘तपाईं मेलमिलाप गर्ने कि नगर्ने ?’

प्रधानमन्त्रीले भने– ‘गर्ने ।’

वामदेवले त्यसैमा टेकेर भने, ‘मेलमिलाप भनेको आफ्नो कुरो मात्र अरुले मान्नुपर्छ भन्ने हो र ? मेलमिलाप तब मात्रै हुन्छ, जब मेलमिलापका पक्षहरू सबै एक कदम पछाडि हट्छन् । बल्ल मिलन सम्भव हुन्छ ।’

प्रधानमन्त्रीले मनको कुरो चुहाए ‘अहँ, म कसैसँग मेलमिलाप गर्दिन । मिल्नुको आवश्यकता देख्दिनँ ।’

प्रधानमन्त्रीले थपे, ‘उनीहरू (प्रचण्ड, माधव, झलनाथ) ले महन्थ ठाकुरलाई प्रधानमन्त्री बनाउन किन लागे ? अनि शेरबहादुरलाई किन उचाले ? त्यसमा तपाईं पनि लाग्नुभएको छ,’ प्रधानमन्त्री ओलीले मनको कुरो भनिहाले ।

लगत्तै गौतमले सोधे, ‘मैले कहाँ त्यस्तो भनेको छु ?’

गौतमको प्रश्न झर्न नपाउँदै प्रधानमन्त्रीले जवाफ दिए, ‘शेरबहादुरले मसँग भनेका छन् ।’

गौतमको जवाफ थियो, ‘तपाईंले पनि महन्थ र देउवाहरूलाई फरक ढंगले प्रस्ताव राख्नुभएको छ ।’

गौतमले प्रधानमन्त्रीलाई सोधे, ‘तपाईं म गृहमन्त्री हुँदाको टीकापुर घटनालाई राजनीतिक रंग दिन खोज्दै हुनुहुन्छ । गम्भीर अपराधका घटनामा जोडिएका र जेल परेकालाई छुटाउने प्रक्रियामा लाग्नुभएको छ ! बाहिर देखिनलाई त राजनीतिक घटना नै हो तर त्यो राजनीतिक मात्रै होइन, त्यसमा अपराध मिसिएको छ । तपाईं आँखा चिम्लिएर त्यो घटनालाई केही हैन भनेझैं गरी घटनामा संलग्नलाई माफी दिन खोज्दै हुनुहुन्छ, किन ? सत्ताका लागि ।’

आजको जनआस्था साप्ताहिकमा समाचार छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस