
१६ वैशाख, काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट एकैदिन ३५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा ३५ जनाको मृत्यु भएको हो ।
यो अहिलेसम्मकै उच्च मृत्युदर हो । यसअघि गतवर्ष एकैदिन ३२ जनाको मृत्यु भएको थियो । योसँगै नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको कुल संख्या ३ हजार २ सय ४६ पुगेको छ ।
यस्तै पछिल्लाे २४ घण्टामा देशभर ४९ सय बढीमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार उपत्यकासहित विभिन्न स्थानमा निषेधाज्ञा लागेकै दिन देशभर ४९ सय २८ जनामा संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार पीसीआर विधिबाट १२ हजार ५९७ जनाको परीक्षण गर्दा ४ हजार ८३१ जना र एन्टिजेन विधिबाट ९६३ जनामा परीक्षण गर्दा ९७ जनामा संक्तमण पुष्टि भएको हो । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ३ लाख १७ हजार ५३० र निको हुनेको संख्या २ लाख ८० हजार १६७ पुगेको छ ।