मुख्य समाचार

इजरायलको एक धार्मिक कार्यक्रममा भागदौड मच्चिँदा ३८ जनाको मृत्यु, सयौं घाइते

israil dharmik

१७ वैशाख, काठमाडौं । इजरायलमा एक लाख बढी मानिस सहभागी भएको एक धार्मिक कार्यक्रममा भागदौड मच्चिँदा दर्जनौंको मृत्यु भएको छ । उत्तरपूर्वी इजरायलको माउन्ट मेरोनमा एक जना प्रसिद्ध रब्बीको समाधीस्थलमा भएको कार्यक्रममा शुक्रबार भागदौड मच्चिएको हो । दोस्रो शताब्दीका रब्बी सिमोन बार एचाईको सम्झनामा हरेक वर्ष हजारौं अर्थोडक्स यहुदीहरू उक्त ठाउँमा भेला हुने गर्छन् । भेला भएकाहरूले रातभरि आगो बालेर नाचगान गर्ने चलन छ ।

यसपालिको कार्यक्रममा १ लाखभन्दा बढी मानिस सहभागी भएका थिए। नाचगान चलिरहेका बेला एक्कासी भागदौड मच्चिएको हो । भवनको छानो खसेर भागदौड मच्चिएको बताइए पनि एकिन कारण पत्ता लागेको छैन । स्थानीय सञ्चारमाध्यमहरूले भागदौडमा कम्तीमा ३८ जना मानिसको ज्यान गएको र सयौं घाइते भएको बताएका छन् तर अधिकारीहरूले मृत्यु हुनेको आधिकारिक संख्या जानकारी गराएका छैनन्। इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले घटनालाई ‘ठूलो क्षति’ भनेका छन् ।

कोरोनाभाइरसको महामारीका कारण गत वर्ष उक्त कार्यक्रममाथि प्रतिबन्ध लगाइएको थियो । यसपालि इजरायलका ५० प्रतिशतभन्दा बढी मानिसलाई कोरोनाविरूद्धको पूर्ण खोप लगाइसकिएको र संक्रमण घटेका कारण सरकारले कार्यक्रम गर्न अनुमति दिएको थियो । कोरोना भाइरसको महामारी सुरू भएपछि इजरायलमा यति धेरै मानिस जमघट भएको यो पहिलो कार्यक्रम थियो ।

यसअघि बिहीबार प्रहरीले अधिकारीहरूलाई कार्यक्रममा काम गर्न अवरोध गर्न खोजेको आरोपमा दुई जनालाई पक्राउ गरेको थियो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस