१७ वैशाख, काठमाडौं । इजरायलमा धार्मिक कार्यक्रम मनाउन निस्किएका दशौं हजारबीच भागदौड मच्चिँदा कम्तीमा पनि ४५ जनाको मृत्यु भएको छ । ‘लाग बाओमेर’ नामक धार्मिक कार्यक्रम मनाउन बिहीबार राति हजारौं मानिस उत्तरपूर्वी इजरायलस्थित माउन्ट मेरोनमा पुगेका थिए । त्यसैक्रममा भागदौड मच्चिँदा कम्तीमा पनि ४५ जनाले ज्यान गुमाएको समाचार संस्था एपीले शुक्रबार जनाएको छ ।
त्यसमा परी करिब एक सय ५० जना घाइते समेत भएका छन् । यसलाई इजरायलको सबैभन्दा घातक नागरिक प्रकोप मानिएको छ । ठूलो संख्यामा मानिसहरू साँघुरो सुरूङबाट प्रवेश गरेपछि भागदौड मच्चिएको हो। भागदौड मच्चिएको भिडिओ पनि सार्वजनिक भएका छन् । त्यसक्रममा मानिस एकअर्का माथि लड्न थालेका थिए ।
इजरायली सरकारले कोरोना भाइरसको महामारी नियन्त्रण गर्न लगाइएका सबै खाले प्रतिबन्धहरू हटाएपछि इजरायली जनता लाग बाओमेर मनाउन निस्किएका थिए । दोस्रो शताब्दीका रब्बी सिमोन बार एचाईको सम्झनामा हरेक वर्ष हजारौं अर्थोडक्स यहुदीहरू उक्त ठाउँमा भेला हुने गर्छन् । भेलामा आगो बालेर नाचगान गरिन्छ । यसवर्ष मिडियाले अनुमान गरेअनुसार अन्दाजी एक लाख मानिस जम्मा भएका थिए ।
प्रधानमन्त्री बेन्जामिन नेतान्याहू शुक्रबार दिउँसो घटनास्थल पुगेका थिए । उनले आइतबार राष्ट्रिय शोकको घोषणा गरेका छन् । शवहरूको पहिचानका लागि इजरायली सेन्ट्रल फोरेन्सिक प्याथोलोजी इन्स्चिट्युटमा लगिएको थियो । सबै मृतकको पहिचान खुलिसकेको छैन । अधिकारीहरूले मृतकहरूको पहिचान खुलाउने प्रयास गरिरहेका छन् ।