१८ वैशाख, काठमाडौं । दाङको तुलसीपुरको स्याउली बजारमा पार्किङ गरि राखेको एउटा कार भित्र तीन वटा शव फेला परेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं ६ स्थित स्याउली बजारमा पार्किङ गरी राखेको इण्डियन नम्बर प्लेटको जे ०१६६०८८५ नम्बरको निशानको कारभित्र तीन वटा शब फेला परेको जिल्ला प्रहरी कार्यालयका दाङका प्रवक्ता तथा डिएसपी मुकुन्द रिजालले जानकारी दिएका हुन् ।
‘चार महिनादेखि पार्किङ गरि राखेको कार भित्र तीन वटा शवहरु फेला परेका छन्,’ इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिवबहादुर सिंहले भने ‘बेलुका ८ बजे तिर म यहाँ आइपुगेका छु घटनाबारे अनुसन्धान हुँदैछ ।’ घटानाको प्रकृति नियाल्दा गम्भीर प्रकृतिको देखिएको हुँदा अनुसन्धान नगरी केही भन्न मिल्ने अवस्था नरहेको डीएसपी सिंहले बताए ।
सिंहले उक्त गाडी स्याउली बजारमा गत माघ महिना अगाडिदेखि पार्किङमा रहेको भन्ने कुरा अनुसन्धानबाट खुल्न आएको बताए । शनिबार बेलुका एउटा बस उक्त कार नजिकै पार्किङका लागि पुगेपछि गन्ध आएको हुँदा कारभित्र हेर्दा ती शवहरु देखेको प्रहरीले जनाएको छ ।