
१९ वैशाख, काठमाडौं । कोरोना भाइरस संक्रमण गाउँ–गाउँमा देखिन थालेको छ । अति प्रभावित क्षेत्रबाट आउनेहरूसँगै कोरोना पनि गाउँ पुग्न थालेको देखिएको छ ।
भारत मात्रै होइन, नेपालकै कोरोना प्रभावित जिल्लाबाट आउने क्रम बढेसँगै बाजुरा उच्च जोखिममा परेको छ । चार दिनयता ८९ जनाको एन्टिजेन परीक्षण गर्दा ३८ जनामा पोजिटिभ देखापरेको स्वास्थ्य कार्यालय बाजुराका निमित्त प्रमुख महेश चन्दले बताए ।
जिल्ला प्रहरी कार्यालयको तथ्यांकअनुसार वैशाख ६ गते यता भारतबाट मात्र ६ सयभन्दा बढी भित्रिएका छन् । उनीहरू सबैलाई होम आइसोलेसनमा बस्न भनिए पनि बजार गाउँ डुलिरहेका छन् ।
धनगढी, महेन्द्रनगर, नेपालगन्ज, काठमाडौंसहित उच्च जोखिम भएका जिल्लाबाट आएकाहरूको तथ्यांक कुनै निकायले राखेको छैन । गाउँ–गाउँमा कोरोनाको लक्षण भएका धेरै बिरामी भए पनि परीक्षण गर्ने नहुँदा समस्या भएको स्थानीयले बताएका छन् ।
यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।