१९ वैशाख, काठमाडौं । इनरुवामा कोरोना संक्रमणका कारण आमापछि छोराको मृत्यु भएको छ । इनरुवा–३ मा एकै परिवारका आठ जनामा कोरोना संक्रमित भएकोमा आमापछि छोराको मृत्यु भएको हो । कोरोना पुष्टि भएपछि होम आइसोलेसनमै बसेकी परिवारकै ज्येष्ठ सदस्य ८४ वर्षीया आमाको तीन दिनअघि मृत्यु भएको थियो ।
शनिबार भने ६४ वर्षीय छोराको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ । सुनसरीमा एकपछि अर्को गरी कोरोना संक्रमितको मृत्यु हुने क्रम बढ्दो छ । इनरुवामा मात्र एक साताको अवधिमा चार जनाको मृत्यु भइसकेको छ । कोरोना भाइरसको महामारीको दोस्रो लहर सुरु भएसँगै जिल्लाभर नौ जनाको मृत्यु भइसकेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख सागर प्रसाईंले जनाए ।
इनरुवासँगै इटहरी र धरानका कोरोना संक्रमितको मृत्यु भएको हो । सुनसरीमा अहिले ३ सय ३४ जना सक्रिय संक्रमित रहेका छन् । यो समाचार आजको नागरिक दैनिकमा छ ।