
१९ वैशाख, काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जनताको जीवन रक्षा अहिले सरकारको प्राथमिकता रहेको बताएका छन् । उनले कोभिड-१९ विरुद्धको अभियानमा साथ दिन समेत सबैलाई अनुरोध गरेका छन् ।
कोभिड-१९ को दोस्रो लहरबाट हुने क्षतिलाई न्यूनीकरण र रोकथाम गर्न सरकारले सबै प्रयत्न जारी राखेको भन्दै अर्थमन्त्री पौडेलले आ-आˆनो ठाउँबाट सक्दो सहयोग गर्न सबैलाई आग्रह गरे ।
“कोभिड–१९ का बिरामीको परीक्षण र उपचार सरकारको प्राथमिकतामा छ । विषम परिस्थितमा अघिल्लोपटक कोभिड–१९ का बेलाका सिकाइहरुलाई समेत आधार मान्दै अघि बढेका छौँ,” नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आर्थिक वर्ष २०७८÷७९ बजेटसम्बन्धी दिएको सुझावपछि उनले भने, “सबैको साथ र सहयोगले कोभिड–१९ विरुद्धको लडाइँ जित्नुको विकल्प हामीसँग छैन ।”
उनले वातावरण सहज पार्न र पूर्वाधारहरु बढाउन प्रदेश सरकार र स्थानीय तहसँग पनि थप समन्वय भइरहेको जानकारी दिँदै जनशक्ति परिचालनमा पनि ध्यान दिइएको बताए ।
नागरिकको स्वास्थ्यलाई ध्यान दिएर नै यसअघि छिमेकी मुलुक भारत र चीनबाट कोभिड–१९ विरुद्धको खोप ल्याइ नागरिकहरुलाई लगाइएको भन्दै अर्थमन्त्री पौडेलले थप खोप ल्याउनका लागि पनि पहल जारी रहेको बताए ।
कोभिड–१९ को पहिलो लहरबाट क्षति पुगेको अर्थतन्त्र पुनरुत्थानकै क्रममा रहेका बेला दोस्रो लहरले अर्थतन्त्रमा पुनः असर पार्ने बताउँदै अर्थमन्त्री पौडेलले पहिले जनताको जीवनरक्षा र त्यसपछि अन्य विषयमा ध्यानकेन्द्रित हुने बताए ।
सेजनले व्यक्तिगत आयकर, मूल्य अभिवृद्धि कर, भन्सार, सार्वजनिक संस्थानहरु, उद्योग, कृषि, पर्यटन, जलविद्युत्, पूर्वाधार, बैंक तथा सहकारी, लगानी, श्रम तथा रोजगार, प्रदेश, स्थानीय तह, बिमा, आर्थिक सुशासन, आर्थिक स्रोतको व्यवस्थापन गर्न सुझाव दिएको छ ।
सेजनका अध्यक्ष भीम गौतमले पत्रकारलाई सहुलियत ऋणको व्यवस्था गर्न, खोजमूलक समाचारका लागि प्रोत्साहनस्वरुप फेलोसीपको व्यवस्था गर्न, पत्रकारको पेसागत सुरक्षा तथा क्षमता वृद्धिका ठोस कार्यक्रम ल्याउन, आर्थिकसँग सम्बन्धित बिटको विकासका लागि प्रोत्साहन गर्नेलगायत कार्यक्रम ल्याउन सुझाव दिए ।