
२० वैशाख, काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा साढे तीन लाखभन्दा बढी कोरोना संक्रमित भेटिएका छन् । यो आँकडा करिब ५० देशमा एक दिनमा भेटिएको केसभन्दा पनि बढी हो ।
दोस्रो लहरमा तीब्र रुपमा भइरहेको संक्रमणको चेन तोड्नका लागि कोभिड टास्क फोर्सका सदस्यले देशव्यापी रुपमा लकडाउनको माग गरेका छन् । यी सदस्यमा एम्स र इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च (आइसीएमआर) समावेश छन् । यसमा केन्द्र सरकारले सोमबार निर्णय लिनसक्ने भारतीय सञ्चार माध्यमले जानकारी दिएका छन् ।
दुबै संस्थाका सदस्यले एक हप्तादेखि देशव्यापी लकडाउनको माग गरिरहेको बताइएको छ । आइसीएमआरले कोरोनाको दोस्रो लहरको चरम अवस्था अझ आउन बाँकी भएको तर्क दिएको छ । संस्थाका अनुसार यो स्थितिमा संक्रमणको चेन तोड्नका लागि दुई हप्ताको पूर्ण लकडाउन आवश्यकता छ ।
केन्द्रले आंशिक लकडाउन लगाउन सक्नेः
केन्द्रले आइसीएमआर र एम्सको धारणामा कुनै निर्णय लिएको छैन । स्रोतका अनुसार ३ मे पनि केन्द्र सरकारले यसबारे निर्णय लिनसक्छ । पूर्ण लकडाउन नै नभएपनि आंशिक लकडाउनको घोषणा केन्द्र सरकारले गर्ने अनुमान गरिएको छ ।