मुख्य समाचार

माओवादीसँग क्रुद्ध ओलीले आफू अनुकूलका नेतालाई नियुक्ति दिन थाले

kp oli

२१ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रका तर्फबाट नियुक्ति पाएका नेताहरूलाई हटाउन थालेका छन् । एमाले र माओवादी एकीकरण भएको बेला भागबन्डामा नियुक्ति पाएका माओवादी नेताहरूलाई पदबाट हटाई ओलीले आफू अनुकूलका नेतालाई नियुक्ति दिन थालेका हुन् ।

माओवादीका तर्फबाट नियुक्त गण्डकी प्रदेश प्रमुख अमिक शेरचन र सुदूरपश्चिम प्रदेश प्रमुख शर्मिला त्रिपाठीलाई हटाएर ओलीले सीता पौडेल र गंगानारायण यादवलाई नियुक्त गरेका छन् । यादव २०७४ सालमा राप्रपाबाट एमालेमा प्रवेश गरेका हुन् भने पौडेल एमालेकै महिला नेत्री हुन्। यसअघि २०७६ कात्तिकमा सरकारले सातैवटा प्रदेशका प्रमुख परिवर्तन गरेको थियो । त्यति बेला प्रदेश २, गण्डकी र सुदूरपश्चिममा माओवादी केन्द्र निकटकालाई नियुक्त गरिएको थियो ।

पुस ५ गतेपछि तत्कालीन नेकपामा आएको विग्रह र फागुन २३ गते सर्वोच्च अदालतले एमाले र माओवादीलाई अलग गराएपछि ओलीले तीनजना प्रदेश प्रमुखलाई पदमुक्त गरिसकेका छन् । यसअघि उनले प्रदेश २ मा माओवादीका तर्फबाट नियुक्ति पाएका तिलक परियारलाई हटाएर राजेश अहिराजलाई नियुक्त गरेका थिए । माओवादी अध्यक्ष पुष्पकमल दाहालले ओली नेतृत्वको सरकारलाई आफ्नो पार्टीको समर्थन नभएको जनाए पनि औपचारिक रूपमा समर्थन फिर्ता लिएका छैनन् ।

यसअघि नै ओलीले माओवादीलाई समर्थन फिर्ता लगे हुन्छ भनेर ललकारेका थिए । सार्वजनिक रूपमा राजीनामा माग्ने तर संसद्मा अविश्वासको प्रस्ताव पनि नलैजाने गरेकाले माओवादीसँग क्रुद्ध ओलीले त्यस दलका नेताहरूलाई प्रदेश प्रमुखबाट मुक्त गरेका हुन् । यो समाचार आजको नागरिक दैनिकमा छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस