मुख्य समाचार

बुटवल उपमहानगरले सुरू गर्‍यो नि:शुल्क अक्सिजन सेवा

oxygen cylinder butwal

२१ वैशाख, बुटवल । बुटवल उपमहानगरपालिकाले उपमहानगरपालिकाभित्र आइसोलेसनमा रहेका संक्रमितका लागि लक्षित गरेर नि:शुल्क अक्सिजन सेवा सुरू गरेको छ । उपमहानगरले बनाएको आइसोलेसन, होटल आइसोलेसन तथा आफ्नै घरमा आइसोलेट भएका संक्रमितलाई लक्षित गरी अक्सिजन सेवा सुरु गरिएको हो ।

स्वासप्रश्वासमा समस्या भएकाहरूबीच तत्काल स्वास्थ्यकर्मीसहितको टोलीले अक्सिजन लिएर पुग्ने बुटवल उपमहानगरपालिका मेयर शिवराज सुवेदीले बताए । उपमहानगर कार्यालय परिसरमा अक्सिजन सिलिन्डर, सिलिन्डर बोक्ने गाडी, बिरामी बोक्ने एम्बुलेन्स र स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा राखिएको सुवेदीले बताए ।

आइसोलेसनबाट सूचना आउनासाथ जनशक्ति परिचालन हुनेगरि व्यवस्था मिलाइएको सुवेदीले बताए । होम आइसोलेसनमा बसेका संक्रमितलाई तत्कालै अक्सिजनको व्यवस्था गर्न लागिएको नगर प्रमुख सुवेदीको भनाइ छ । उपप्रमुख गुमादेवी आचार्यको संयोजकत्वमा उपसमिति गठन गरेर अक्सिजन बैंक स्थापनाको प्रक्रिया अघि बढाइएको छ ।

सो समितिले उपमहानगरको स्वास्थ्य तथा जनसंख्या महाशाखामार्फत स्वास्थ्यकर्मी र प्राविधिकलाई अक्सिजन उत्पादक समक्ष छलफल गर्न, अक्सिजन सिलिन्डर संकलन गर्न र रिफिल गर्ने काम अघि बढाएको छ । अक्सिजन उत्पादक कम्पनी र कोरोना उपचारका लागि स्थापना भएका अस्पतालसँग प्राविधिक विषयमा छलफल भएको र अक्सिजन उपलव्ध गराउने समुदायका लागि मापदण्डसमेत बनाइएको संयोजक एवं उपप्रमुख आचार्यले बताइन् ।

साथै होम आइसोलेसनमा बसेकाहरूले सम्बन्धित टोल विकास संस्था वा वडाका जनप्रतिनिधिलाई नाम टिपाउन उपमहानगरले अपील गरेको छ। संक्रमितका लागि घरदैलोमा पुग्नेदेखि अक्सिजन सिलिन्डरसहितका एम्बुलेन्स र स्वास्थ्यकर्मी पठाउन सहज हुने भएकाले नाम र अवस्था टिपाउन आग्रह गरिएको प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रेग्मीले बताए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस