मुख्य समाचार

चितवन कारागारका कैदीसँगको भेटघाट बन्द

chitwan bharatpur jail

२२ वैशाख, चितवन । चितवन कारागार कार्यालयमा रहेका कैदीसँगको भेटघाट बन्द गरिएको छ । कार्यालय प्रमुख कमलप्रसाद काफ्लेका अनुसार कोरोना संक्रमण फैलन सक्ने भएकाले भेटघाट बन्द गरिएको हो । आफन्त भेटघाटमा आउँदै कारागारमा रहेका कैदीबन्दीलाई कोरोना सर्न सक्ने भन्दै कारागार प्रशासनले भेटघाट बन्द गराएको उनले जानकारी दिए ।

उनले भने, “बाहिरबाट मान्छे आउँदा भित्र रहेकालाई कोरोना सर्न सक्ने खतरा भएकाले भेटघाट बन्द गराएका छौँ ।” दोस्रो चरणको कोरोना भाइरस पहिलेको भन्दा जटिल भएकाले भेटघाटमा आउने आफन्तलाई गेटबाट फर्काइएको उनले बताए ।

भेटघाट बन्दसँगै बाहिरबाट ल्याउने कैदीबन्दीलाई समेत रोक लगाइएको उनको भनाइ छ । उनले भने, “बाहिरी जिल्लाबाट गम्भीर प्रकृतिका बिरामी भएकाबाहेक अन्य कैदीबन्दी नपठाउन भनेका छौं ।” जिल्ला अदालतबाट ल्याइएका कैदीबन्दीको पनि कोरोना परीक्षण गरेर मात्र राख्ने गरिएको उनले जानकारी दिए । उनले भने, “कारागारमा कोरोना सङ्क्रमण फैलन नदिनका लागि उच्च सतर्कता अपनाएका छौ ।”

जिल्ला अदालतबाट पठाइएका कैदीबन्दीलाई आउने बित्तिकै १५ दिन छुट्टै क्वारेन्टिनमा राख्ने व्यवस्था गरिएको छ । बीस जना अट्ने क्षमता रहेको सो क्वारेन्टिनमा अहिले पनि कैदीबन्दी रहेका छन् । पहिलो चरणको कोरोना संक्रमणका समयमा विसं २०७६ साल चैत ८ गतेदेखि बन्द गरिएको भेटघाट २०७७ साल माघ २६ गतेमात्र खोलिएको थियो । भेटघाट बन्द गरिएसँगै कारागार कार्यालयमा कोरोना संक्रमण फैलन पाएको थिएन । कारागार कार्यालयमा अहिले ६६५ कैदीबन्दी रहेका छन् ।

त्यसमा पुरुष ६१६, महिला ४९ र आश्रित बालबालिका तीन रहेका छन् । यहाँ रहेका कैदीबन्दीमध्ये ५५१ ले कोरोनाविरुद्धको दोस्रो चरणको खोपसमेत लगाइसकेको काफ्लेले जानकारी दिए । यस कार्यालयमा २५ महिला र २५५ पुरुषको क्षमता रहेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस