
२२ वैशाख, पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई कोरोना देखिएको छ । जनस्वास्थ्य प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा बुधबार दिउँसोका रिपोर्ट पोजेटिभ आएको हो । यसअघि मंगलबार आरडिटी (-यापिड डाइनोस्टिक टेस्ट) गरिएकोमा रिपोर्ट पोजेटिभ आएपछि पिसिआर परीक्षण गरिएको थियो ।
पोखरास्थित सरुवा रोग अस्पतालका कार्यकारी निर्देशक डा. विकास गौचनका अनुसार मुख्यमन्त्री गुरुङलाई कोरोना देखिएको पुष्टि गरे । उनले भने, ‘माननीयज्यू हिजो (मंगलबार) अस्पताल भिजिटमा आउनुभएको थियो ।
हामीहरुसँग कुराकानीका क्रममा टाउको दुखेको भनेपछि आरडिटी गरिएकोमा पोजेटिभ देखिएको थियो । अब पीसीआर पनि गरौं न भनी स्वाब संकलन गरी ल्याब पठाइएकोमा रिपोर्ट पोजेटिभ आएको सूचना आएको छ ।’ डा. गौचनका अनुसार मुख्यमन्त्रीको स्वास्थ्य अवस्था सामान्य रहेको र उनी होम आइसोलेनमा बसेका छन् ।
मुख्यमन्त्री गुरुङका प्रेस संयोजक विक्रम न्यौपानेमा पनि कोरोना संक्रमण देखिएको छ । न्यौपानेमा संक्रमण देखिएपछि मुख्यमन्त्री गुरुङ कन्ट्याक्ट ट्रेसिङमा परेका थिए । न्यौपाने ३ दिनदेखि होम आइसोलेसनमा छन् । यसैबीच, मंगलबार भएको सर्वदलीय बैठकमा मुख्यमन्त्री गुरुङ सहभागी थिए । केही दिनअघि उनी काठमाडौंमा प्रधानमन्त्री ओलीलाई भेटेर फर्केका थिए ।