
२३ वैशाख, काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले यात्रुसँग बढि भाडा लिने तिन जनालाई गोंगबु बसपार्कबाट पक्राउ गरेको छ । कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणको लागी जारी भएको निषेधाज्ञामा मौकाको फाइदा लिन खोज्ने पोखरा माइक्रो र बुटवल भैरहवा काउण्टरको कर्मचारीलाई आज बसपार्कबाट पक्राउ गरेको हो ।
काठमाण्डौं देखि पोखरासम्मको नियमित भाडा पाँच सय र बुटवलसम्म बाह्र सय तोकिएकोमा पाँच सय प्रतिशतसम्म बढी भाडा लिएको कसुरमा तीनजनालाई पक्राउ गरिएको महाशाखा प्रमुख एसएसपी जनक भट्टराईले बताए । उनले पोखरा जाने यात्रुसँग रु.३५०० र बुटवल जाने यात्रुबाट जनही रु.६००० का दरले भाडा लिन क्रममा पक्राउ गरिएको बताए । उपत्यका छाडी आफ्नो घर फर्किन खोज्ने यात्रुहरुलाई ग१ख ९६२१ मार्फत पोखरा र बा४ख ५१९७ नम्बरको बस मार्फत बुटवल जाने यात्रुहरूबाट बढि भाडा असुलेको हो ।
पक्राउ पर्नेमा पोखरा माइक्रोमा काम गर्ने पोखरा-३३ घर भइ काठमाण्डौं बस्ने बर्ष ३२ को बन्दराज पराजुली र रतुवामाई ९-मोरङ्ग घर भई नेपालटार बस्ने बर्ष २९ को नबीन पौडेल साथै बुटवल भैरहवा काउण्टरमा काम गर्ने धादिङ थाक्रे-७ का बर्ष २९ का रंजित सिलवाल रहेको महाशाखाले जनाएको छ । ट्राफिक प्रहरी महाशाखाले यस्तो विषम परिस्थितिमा हुन सक्ने यात्रु ठगी तथा आइपर्न सक्ने यातायात सम्बन्धि समस्या अनुगमनको लागी सादा पोसाकमा बिशेष टोली परिचालन गरेको छ ।
टोलीले आफै यात्रु बनेर भाडा मोलमोलाई गर्ने र बढी भाडा लिन खोज्नेलाई निगरानीमा राखि नियन्त्रण गर्ने गरेको छ । यात्रुसँग बढी भाडा लिने बाग्लुङ भगवती काउण्टरका कर्मचारी मिलन सारुलाई पनि महाशाखाले हिजो पक्राउ गरेको थियो । पक्राउ परेका तिनै जनालाई आवश्यक कारबाहीको लागी महानगरीय प्रहरी प्रभाग, बसपार्कमा बुझाएको छ ।