मुख्य समाचार

आजदेखि आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान बन्द

buddha air

२४ वैशाख, काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा गए रातिदेखि अन्तरराष्ट्रिय उडान पनि रोकिएको छ ।

कोरोना महामारी नियन्त्रणका लागि सरकारले वैशाख मसान्तसम्म आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान स्थगन गर्ने निर्णय गरे अनुसार आजबाट सबै उडान सेवा बन्द गरिएको हो । मन्त्रिपरिषद्को वैशाख १९ मा भएको बैठकले कोरोना रोकथामका लागि आन्तरिक र अन्तर्राष्ट्रिय दुबै स्थगन गर्ने निर्णय गरेको थियो ।

नेपाल र भारतबीच एयर बबल सम्झौता अनुरुप देशबीच सातामा दुई उडान कायम राख्ने गरी सबै आन्तरिक तथा अन्तरराष्ट्रिय उडान बन्द भएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले जनाएको छ । हवाई उडानबाट नेपाल आउने भारतीय नागरिकले स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी १० दिन अनिवार्य होटेल क्वारेन्टिन बस्नुपर्नेछ ।

उनीहरूका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले काठमाडौंका विभिन्न आठ होटल सूचीकृत गरेको छ । यसअवधिमा चार्टर्ड तथा उद्धार उडान सञ्चालन हुने क्यानले जनाएको छ । आन्तरिक र अन्तर्राष्ट्रिय चार्टड तथा उद्धार उडानको हकमा स्वास्थ्य सुरक्षाको मापदण्डको पूर्ण पालना हुनेगरी पर्यटन मन्त्रालयले उडान अनुमति जारी गर्नेछ ।

चार्टड र उद्धार अन्तरराष्ट्रिय उडानबाट आउने जाने यात्रुको बारकोड र फोटोसहितको पिसिआर रिपोर्ट अनिवार्य गरिएको छ । कोभिड महामारीको जोखिम नियन्त्रणका लागि सरकारले गत वैशाख १६ देखि काठमाडौं उपत्यकासहित देशका विभिन्न जिल्लामा निषेधाज्ञा लागु गरेको छ । अघिल्लो वर्ष कोभिड–१९ सङ्क्रमणको पहिलो लहर नेपालमा फैलिएपछि महामारी नियन्त्रणका लागि सरकारले चैत ११ देखि देशभर लकडाउन गरेको थियो ।

चैत १० देखि आन्तरिक र अन्तर्राष्ट्रिय दुबै उडान स्थगन गरेको थियो । महामारी घटेपछि गत भदौ १६ गतेबाट अन्तर्राष्ट्रिय तथा असोज ५ गतेदेखि आन्तरिक उडान सञ्चालनमा आएका थिए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस