२४ वैशाख, काठमाडौं । गण्डकी प्रदेशका ११ वटै जिल्लाका अध्यक्षहरूले एमाले पार्टीलाई विभाजन हुन नदिन केन्द्रिय नेताहरूलाई आग्रह गरेका छन् । शुक्रबार संयुक्त प्रेस वक्तव्य जारी गर्दै प्रदेशभरका पार्टी अध्यक्षहरूले हाल पार्टी गम्भीर संकटमा फसेको र यसले कम्युनिष्ट आन्दोलनमा समेत धक्का पुगेको भन्दै एकता जोगाउन आग्रह गरेका हुन् ।
प्रेस वक्तव्यमा भनिएको छ, ‘नेपाल कम्युनिष्ट पार्टी एमाले जिवन्त र गतिशील पार्टी हो । नेपाली कम्युनिष्ट आन्दोलनको मुल प्रवाह हो । विगत वर्षदेखि आन्तरिक अन्तरविरोध देखा परेका छन् । यो अन्तरसंघर्षले पार्टीलार्ई क्षति र्पुयाइरहेको हामीले महसुस गरेका छौं । कम्युनिष्ट पार्टीको इतिहास, आदर्श, मुल्यमान्यता र जनता प्रतिको जवाफदेहितालाई आत्मासाथ गर्दै आदरणीय नेताहरू एकताबद्ध भई एमालेलाई जोगाउन अनुरोध गर्दछौं ।’
सामूहिक विज्ञप्तिमा कास्कीका कृष्ण बहादुर थापा, स्याङ्जाका सूर्यप्रसाद शर्मा (पारस), तनहुँका केदार सिग्देल, लमजुङका धनन्जय दवाडी, गोरखाका प्रेमबहादुर गुरुङ, पर्वतका पदम गिरी, बाग्लुङका इन्द्रलाल सापकोटा, म्याग्दीका हरिकृष्ण श्रेष्ठ, मुस्ताङका चन्द्रमोहन गौचन, मनाङका पाल्देनछोपेन गुरुङ र नवलपुरका रोशन गाहाले हस्ताक्षर गरेका छन् ।
गण्डकी प्रदेशका ११ जिल्ला अध्यक्षहरू मध्ये १० जना ओली समर्थक रहेका छन् । एकजना बागलुङका इन्द्रलाल सापकोटा मात्र नेपाल पक्षका हुन् । स्याङ्जाका अध्यक्ष सूर्य गैह्रे (पासर) माओवादीबाट एमाले प्रवेश गरेर ओली पक्षतिर लागेका छन् ।