२५ वैशाख, काठमाडौं । भारतमा शनिबार पनि संक्रमितको दैनिक वृद्धि ४ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा ४ लाख १ हजार ३२६ जनामा संक्रमण पुष्टि भएको भारतीय स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
अघिल्लो दिनको तुलनामा भने यो संख्या केही कम हो । अघिल्लो दिन भारतमा ४ लाख १४ हजारभन्दा बढी संक्रमित थपिएका थिए । कुल संक्रमित संख्याका आधारमा दोस्रो स्थानमा रहेको भारतमा कोरोना संक्रमितको संख्या २ करोड १८ लाख नाघेको छ । पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या २ करोड १८ लाख ८६ हजार ६११ पुगेको छ ।
दोस्रो लहरको संक्रमणको ‘हटस्पट’ बनेको भारतमा यसअघि पहिलो पटक गत शनिबार (१८ वैशाखमा) कोरोना संक्रमितको दैनिक वृद्धि ४ लाख नाघेको थियो । संक्रमितको संख्या २४ वैशाखमा भारतमा सबैभन्दा उच्च विन्दुमा ४ लाख १४ हजार ४३३ पुगेको थियो । भारतमा दैनिक रुपमा संक्रमणबाट हुने मृत्युदरसमेत बढिरहेको छ ।
यस्तै त्यहाँ एकैदिन ४१ सय ९४ संक्रमितको मृत्यु भएको छ । पछिल्लो विवरणसँगै भारतमा मृतक संख्या २ लाख ३८ हजार २६५ पुगेको छ । यो समाचार तयार पार्दासम्म भारतमा १ करोड ७९ लाख १७ हजार ८५ जना संक्रमणमुक्त भएका छन् । अब भारतमा सक्रिय संक्रमितको संख्या ३७ लाख ३१ हजार २६१ छ ।