
२५ वैशाख, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोभिड-१९ का विरामीहरूका लागि तत्काल अक्सिजनको आपूर्ति र वेडको व्यवस्था सुनिश्चित गर्न सरकार समक्ष माग गरेको छ ।
कांग्रेस सह–महामन्त्री एवं नेपाली कांग्रेस कोभिड—१९ अनुगमन समितिका संयोजक डा प्रकाशशरण महतले शनिबार एक विज्ञप्ति जारी गर्दै अक्सिजन अभावको गम्भीर समस्यालाई तत्काल सम्बोधन गर्न, कृतिम अभाव सृजना गर्नेहरुलाई तत्काल कार्वाही गर्न र आवश्यकता अनुसार विदेशबाट पनि अक्सिजन र अक्सिजन सिलिण्डरको आपूर्ति गर्न सरकारसँग माग गरेका छन् ।
‘काठमाडौं उपत्यकाका कतिपय अस्पतालहरुले अक्सिजनको अभावका कारण अक्सिजन चाहिने कोभिड–१९ का विरामीहरुलाई उपचार गर्न नसकिने अवस्था आएको सूचना जारी गर्न थालेका छन्’, विज्ञप्तिमा भनिएको छ,’सरकार भने कोभिड–१९ को उपचारमा देखिएको गम्भीर समस्याप्रति अझै संवेदनशील छैन ।’
कांग्रेसले आवश्यकता अनुसार सरकारसँग देशका विभिन्न ठाउँहरुमा कोभिड–१९ उपचारका लागि अस्थायी अस्पतालको समुचित व्यवस्था गरी हरेक नागरिकको उपचार पाउने अधिकारको सुनश्चितता गर्न मागसमेत माग गरेको छ ।