
२६ वैशाख, काठमाडौं । सांसदको विशेष अधिवेशनअघि स्वाब संकलन गरिएका १२ सय ३५ मध्ये १६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वाब संकलन गरिएका मध्ये ११.९७ प्रतिशतमा कोरोना संक्रमण पुष्टि भएको संघीय सांसद सचिवालयले जनाएको छ ।
वैशाख २२, २३ र २४ गते स्वाब संकलन गरिएका २०५ सांसद र एक हजार ३० कर्मचारी र अन्य गरेर अहिलेसम्म १२ सय ३४ जनाको रिपोर्ट प्राप्त भएको हो । संक्रमितमध्ये १९ जना सांसद छन् । जसमध्ये १८ जना प्रतिनिधिसभाका सदस्य हुन् । राष्ट्रिय सभाका एक सांसदमा मात्र संक्रमण देखिएको छ ।
सांसद सचिवालयमा स्वाब संकलन गर्नुअघि नै ८ सांसद आइसोलेसनमा रहेकाले संक्रमित सांसदको कुल संख्या २६ पुगेको छ । संक्रमित १६० मध्ये १४१ जना सचिवालयका कर्मचारी, मर्यादापालक, स्वकीय सचिव, सुरक्षाकर्मी, पत्रकार र आईसीसी भवनका कर्मचारी रहेका छन् । सचिवालय स्रोतका अनुसार प्रतिनिधिसभाका ५४ सांसदको भने परीक्षण बाँकी नै छ ।
प्रतिनिधिसभाका २७१ मध्ये चारजना निलम्बित हुँदा सांसदको संख्या २६७ रहेको छ । कोरोना संक्रमणबाट संघीय सांसद सचिवालयमा कार्यरत उपसचिव कृष्णराज खनालको मृत्यु भइसकेको छ । परीक्षण गरिएका मध्ये करिब १२ प्रतिशतमा संक्रमण पुष्टि भएपछि वैशाख २७ गतेका लागि बोलाइएको सांसदको विशेष अधिवेशन नै कोरोना संक्रमणको केन्द्र बन्ने हो कि भन्ने त्रास बढेको छ ।