२८ वैशाख, काठमाडौं । जसपा अध्यक्ष महन्थ ठाकुर प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा खुलेका छन् । प्रधानमन्त्री ओलीले सोमबार संसदमा विश्वासको मत लिने बेला ठाकुर र उनी पक्षका सांसद तटस्थ बसेका थिए ।
आन्दोलनको क्रममा लागेकाहरुको मुद्दा फिर्ता, बन्दी रिहाइ, नागरिकता, संविधान संशोधन लगायतका सवालहरुमा प्रधानमन्त्री ओलीसँग वार्ता सकारात्मक रुपले अगाडि बढिरहेको भन्दै उनले नयाँ सरकार गठन प्रक्रियामा सहभागी नहुने घोषणा गरेका छन् ।
अध्यक्ष ठाकुरले सोमबार राति एक विज्ञप्ति जारी गरेर भनेका छन्, ‘जसपा सत्ताको प्राप्तिभन्दा एजेण्डा सम्बोधनको विषयमा केन्द्रित रहेको र मुद्दा सम्बोधन नै जसपा नेपालको मूल ध्येय रहेको अवस्थामा मुद्दाबाट विचलित भई सरकार निर्माण गर्ने, सरकारमा सहभागी हुने वा कुनै पनि किसिमको वैकल्पिक सरकार गठनमा संलग्न हुने कार्य जसपा नेपालको उद्देश्य विपरीत हो ।’
ठाकुरले एक जिम्मेवार राजनैतिक पार्टीको नाताले जसपा नेपाल मधेशी, आदिवासी, जनजाति, थारु, दलित महिला, मुस्लिम लगायतका सीमान्तकृत, शोषित, पीडित, उपेक्षित समुदायको एजेण्डा सम्बोधनका लागि निरन्तर संघर्ष गर्ने पनि उल्लेख गरेका छन् ।
जसपाकै अर्का अध्यक्ष डा. बाबुराम भट्टराई र उपेन्द्र यादव भने ओली नेतृत्वको वर्तमान सरकारलाई विदा गरेर नयाँ सरकार गठनको प्रयासमा खुलेर लागेका छन् । भट्टराई–यादव पक्षका सांसदहरुले प्रधानमन्त्री ओलीको विश्वासको मतको विपक्षमा मत दिएका थिए ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र जसपाका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रपति विद्यादेवी भण्डारीलाई संयुक्तरुपमा पत्र लेखेर संविधानको धारा ७६ को उपधारा २ अनुसार नयाँ सरकार गठनको प्रक्रिया अघि बढाउन आग्रह गरेका थिए । राष्ट्रपति भण्डारीले पनि बहुमतको सरकार गठनका लागि वैशाख ३० गतेसम्मको समयसीमा दिएकी छन् ।
एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुक र ट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।