समाचार

महाकाली नदी दुर्गन्धित बन्दै

mahakali river

२८ वैशाख, सुर्खेत । महाकाली नदीलाई पवित्र गङ्गा मानिन्छ । यो नदी धार्मिक रूपमा जति महत्वपूर्ण छ, पछिल्लो समय जथाभावी फोहर गर्दा त्यति नै दूषित बन्दै गएको छ । धार्मिक दृष्टिकोणले महत्वपूर्ण मानिएको महाकाली नदी दिन प्रतिदिन सोझै ढल र फोहर फालिएपछि फोहोरले नदी दुर्गन्धित बन्दै गएको छ ।

अहिले प्रदूषणकै कारण नदीको पानी पिउन र स्नान गर्न नसकिने अवस्था रहेको स्थानीयवासी बताउँछन् । “सदरमुकाम खलङ्गाको किनारका बस्तीका सबै फोहर नदीमै जान्छ”, स्थानीयवासी वीर सिंह धामीले भने, “खलङ्गाको बङ्गाबगडबाट किम्तडी नजिकसम्म हे¥यो भने फोहर जताततै भरिएको छ ।” बजार क्षेत्रको फोहर महाकालीमै बिसर्जन गरिन्छ । किनारका बस्तीको ढल निकास पनि नदीमै छाडिएको छ ।

अझ कतिपय ठाउँमा मलमूत्रसमेत नदीमै मिसाइएको सहजै देखिन्छ । यसले महाकाली नदी दिन प्रतिदिन दूषित बन्दै गएको हो । कुहिने नकुहिने सबै प्रकारका फोहर महाकालीमा मिसाउँदा पानी दूषित बन्दै गएको हो । खासगरी बङ्गाबगडबाट पुलघाट तथा किम्ती नजिकैको छेउमा फोहोरको थुप्रो फालिएको छ । सदरमुकाम खलङ्गाको बङ्गाबगडबाट किम्तडी क्षेत्रसम्म जथाभावी फोहर फाल्ने गरेका कारण नदी दुर्गन्धित बनेको छ । दाहसंस्कार स्थलमा मृतकका लुगाकपडा तथा अन्य सामग्री फाल्दा झनै दूषित बनेको छ ।

“फोहरमैला र ढल निकासका कारण नदी दूषित बन्दै गएको छ”, सङ्कल्प दार्चुलाका कार्यक्रम संयोजक नारायण जोशीले भने, “यसले जलचर प्राणीलाई पनि असर पु¥याएको छ । मानवबस्ती भएका क्षेत्रमा नदी अझ बढी दूषित भएको छ ।” वातावरणमा परेको असरले सिङ्गो जलचर प्राणी मात्र नभई मानव स्वास्थ्यमा गम्भीर असर परेको उनको भनाइ छ ।

महाकाली नदी नियन्त्रण आयोजनाका अनुसार सदरमुकाम खलङ्गाको बङ्गाबगडबाट नमस्कार तलैसम्म नदी किनारमा फोहरमैला छ । बढ्दो शहरीकरण र बस्ती विकासका कारण भारततर्फ पनि महाकालीमा प्रदूषण निकै बढेको स्थानीयवासी बताउँछन् । पटक–पटक गरिएको नदीको स्वच्छता परीक्षणका क्रममा महाकालीको पानीमा कोलिफार्म बढ्दै गएको छ । यसबाहेक क्षारीयपन, एमोनियम र नाइट्रेडको मात्रा पनि बढ्दो छ । नदी किनारका बासिन्दाले शौचालयको पाइप सोझै नदीमा मिसाउँदा प्रदूषण बढेको महाकाली नदी नियन्त्रण आयोजनाका कर्मचारी करनसिंह धामी बताउँछन् ।

“तटबन्धको काम भइरहेका बेला स्थानीयवासीको घरको दिसा मिसाइएको, ढलदेखि मदिराका बोतल प्लाष्टिकजन्य वस्तु सिधै नदीमा मिसाइएको देखिन्छ”, धामीले भने, “कयौँ घरको शौचालयको सेफ्टीट्याङ्की अहिले पनि छैनन् । तटबन्ध निर्माणका क्रममा हामीले केही व्यक्तिलाई तटबन्धभित्रै सेफ्टीट्याङकी बनाउन भनेका छौँ । मदिराका बोतल जथाभावी फालिएका देखिन्छन् ।” काम गराउनै निकै मुस्किल हुने गरी स्थानीयवासीले तटबन्ध छेउछाउमा फोहर जम्मा गरेको धामीको भनाइ छ ।

वातावरणविज्ञ कृष्णदेव जोशी महाकाली नदीमा फोहरको मात्रा बढ्दै जाँदा भविष्यमा विकराल समस्या आउने सुनाउँछन् । “घरभित्र र घर बाहिरबाट निस्केको फोहरका कारण महाकाली नदीको पानीमा दूषितको मात्रा बढ्दै गएको छ । यसको असर जलचर तथा मानव स्वास्थ्यमै पर्छ”, उनले भने, “यसतर्फ सबैले समयमै सोच्नुपर्छ ।”

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *