३० वैशाख, काठमाडौं । नेकपा एमालेले माधवकुमार नेपालसहित चार नेतामाथिको निलम्बनको कारवाही फुकुवा गरेको छ । बिहीबार बिहान बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले नेपालसहित सुरेन्द्र पाण्डे, भीम रावल र घनश्याम भुसालमाथिको कारवाही फुकुवा गरेको प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले जानकारी दिए ।
पार्टी एकता कायम राख्न त्यस्तो निर्णय गरेको एमाले संसदीय दलका उपनेता समेत रहेका सुवास नेम्वाङले जानकारी दिए । त्यस्तै बैठकले माधवकुमार नेपाललगायत असन्तुष्ट नेताहरूका मागका सम्बन्धमा छलफल गर्न अध्यक्ष केपी ओलीलाई जिम्मेवारी दिने निर्णय पनि गरेको छ ।
नेपाल पक्षका सांसदहरुले सामुहिक राजीनामाको तयारी थालेपछि ओली पक्षले उनीहरुलाई फकाउनका लागि कारवाही फिर्ता लिने निर्णय गरेको हो । नेपाल पक्षका सांसदहरुले राजीनामा दिए काँग्रेस–माओवादी–जसपाको विपक्षी गठबन्धनलाई नयाँ सरकार गठन गर्न सहज हुनेछ । सत्ता जोगाउनका लागि प्रतिकूल अवस्था सिर्जना भएसँगै ओली आफ्नो पूर्ववत् निर्णयबाट पछाडी सर्न बाध्य भएका हुन् ।