
३० वैशाख, काठमाडौं । सर्लाहीमा निषेधाज्ञा थप गरिएको छ । बिहीबार कोभिड संकट व्यवस्थापन केन्द्र सर्लाहीको बैठकले जिल्लामा लगाइएको निषेधाज्ञालाई जेष्ठ १० गतेसम्मका लागि बढाएको प्रमुख जिल्ला अधिकारी हेमराज तामाङले जानकारी दिए ।
कोरोना संक्रमणको दोस्रो लहर तीव्र रुपमा फैलिरहेको अवस्थामा शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी आगामी जेठ १० गते राति १२ बजेसम्मका लागि निषेधाज्ञाको समयावधि थपिएको हो । यसअघि सर्लाहीमा वैशाख २५ गते राति १२ बजेदेखि वैशाख ३१ गतेसम्मको लागि निषेधाज्ञा लगाइएको थियो ।
निषेधाज्ञाको अवधिमा निजी तथा सार्वजनिक सवारीसाधन, हाट बजार, होटल तथा रेष्टुरेन्ट, ब्युटीपार्लर, सैलुन, शैक्षिक संस्था, ट्युसन सेन्टर लगायत बन्द रहनेछन् । खाद्यान्न, फलफूल, तरकारी, दूध डेरी, ग्यास पसल बिहान ७ बजेदेखि १० बजेसम्म मात्रै खोल्न पाइने छ । त्यस्तै, बैंक तथा वित्तीय संस्थाहरु नेपाल राष्ट्र बैङ्कको निर्देशनअनुसार स्वास्थ्य मापदण्डको पूर्ण रुपमा लागू गरेर सञ्चालन हुने उनले बताए।