
३१ वैशाख, काठमाडौं । देशभर कोरोना संक्रमणका बिरामीको संख्या बढिरहेको छ तर अक्सिजन अभावमा अस्पतालले आफ्नो क्षमताअनुसार उपचार सेवा दिन पाएका छैनन् । सरकारले अक्सिजन आपूर्तिमा कोटा प्रणाली लगाएपछि बरु उल्टै अस्पतालले भर्ना लिने बिरामीको संख्या घटाउँदै लगेका छन् ।
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोभिडका तीन सय बिरामीको उपचार गर्ने प्रतिबद्धता जनाएको थियो । अक्सिजन अभाव भएपछि १ सय ७० जनालाई मात्र भर्ना लिएर सेवा दिइरहेको अस्पतालले जनाएको छ । अस्पतालका निर्देशक डा. रवि शाक्यका अनुसार भर्ना भएका ८० प्रतिशत बिरामी अक्सिजन चाहिने छन् ।
उनीहरूलाई अक्सिजन पुर्याउन नसकेपछि तीमध्ये केही हाइफ्लो अक्सिजन चाहिने अवस्थाका छन् । अस्पतालले बिरामीको संख्या घटाएर १ सय ७० मा सीमित पारेको उनले बताए । अक्सिजन अभाव भएपछि चिकित्सकले कतिपय बिरामीलाई हातैले श्वास–प्रश्वास व्यवस्थापन गरेको शाक्यले बताए ।
यस्तै त्रिवि शिक्षण अस्पतालसँग चार सय बिरामी भर्ना लिएर उपचार गर्न सक्ने क्षमता छ । तर अक्सिजन अभाव भएपछि अस्पतालले बेड संख्या बढाउन सकेको छैन । बिरामी भने बरन्डामा पालो कुरेर बसिरहेका छन् । यसरी पालो कुरेर बस्ने बिरामी ५० जना भएको अस्पतालले जनाएको छ । अक्सिजन नपाएपछि पालो कुर्दाकुर्दै बिरामीको मृत्यु हुने गरेको अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीले बताए ।
राजधानीकै हिमाल अस्पतालले आवश्यकताअनुसार अक्सिजन आपूर्ति भए एकै पटकमा चार सय बिरामीलाई बेड व्यवस्थापन गरेर उपचार दिने सकिने जनाएको छ । हाल अस्पतालमा ३२९ संक्रमित उपचाररत छन् । तीमध्ये ५० जना आइसियुमा छन् । अहिलेकै अवस्थामा दैनिक ३ सय सिलिन्डर अक्सिजन चाहिने भए पनि सरकारले जम्मा ४० सिलिन्डरको कोटा तोकेपछि समस्या जटिल बनेको अस्पतालले जनाएको छ । अक्सिजन अभाव भएपछि पछिल्ला दिनमा नयाँ बिरामी भर्ना नलिएको अस्पताल स्रोतले बतायो ।
देशकै सबैभन्दा ठूलो सरकारी अस्पताल वीरले पनि अक्सिजन अभावकै कारण नयाँ सर्जिकल भवनलाई कोभिड वार्डमा विस्तार गर्न नसकेको जनाएको छ । वीरले बिहीबारदेखि भर्ना लिने बिरामीको संख्या पनि घटाएको छ । यस्तै राष्ट्रिय ट्रमा सेन्टरले अक्सिजन अभावका कारण नयाँ बिरामी भर्ना लिन सक्ने स्थिति नरहेको जनाएको छ । यो समाचार नागरिक दैनिकमा छ ।