
३१ वैशाख, विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले जिल्लामा थप १० दिन निषेधाज्ञा जारी राख्ने निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाका अनुसार जेठ ११ गतेसम्म निषेधाज्ञा थप गरिएको छ ।
कोरोना जोखिम कम नभएपछि निषेधाज्ञाको समय थप गरिएको हो । निषेधाज्ञाका बेला सरकारीबाहेक निजी क्षेत्रले सञ्चालन गरेको भौतिक निर्माणमा रोक लगाइएको छ । निर्माण सामग्रीसमेत बिहान १० बजेसम्म मात्र ढुवानी गर्न पाइने छ ।
यस अघि औद्योगिक मजदूरलाई घरबाट उद्योगसम्म जान छुट थियो । तर अब भने घरबाट उद्योग जान नदिने निर्णय भएको छ । उद्योगकै आवास गृहमा रहेका मजदूर प्रयोग गरेर उद्योग सञ्चालन गर्न पाइनेछ । सङ्क्रमण बढेकाले बाहिरी मजदूरको आवत–जावत रोक्ने निर्णय भएको उनले बताए ।
सरकारी कार्यालयमा अत्यावश्यक बाहेकका सेवाहरू बन्द गरिएको छ । बजार क्षेत्र पनि बन्द रहने छ । बैंकको सेवा व्यवस्थापनका लागि राष्ट्र बैंकसँग समन्वय गरिएको र अनलाइन कारोवार गर्नका लागि आग्रह गरिएको बताइएको छ । खाद्यान्न, सागसब्जी र दुग्धजन्य बस्तुको बिक्री बिहान १० बजेसम्म तोकिएको छ ।