
३१ वैशाख, काठमाडौं । सूर्य नेपाल प्रालिद्वारा काठमाण्डौका ३ सरकारी अस्पताललाई विभिन्न प्रकारका स्वास्थ्य सामग्रीहरु प्रदान गरिएको छ । कम्पनीले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, वीर अस्पताल स्थित राष्ट्रिय ट्रमा सेन्टर र निजामति कर्मचारी अस्पताललाई ल्याटेक्स पन्जा, सर्जिकल मास्क, अनुहार ढाक्ने फेस सिल्ड, व्यक्तिगत सुरक्षा उपकरण र अक्सिमिटर प्रदान गरेको छ ।
यी स्वास्थ्य सामग्रीहरु सम्बन्धित अस्पतालका कार्यकारी निर्देशकहरुलाई आज हस्तान्तरण गरिएको हो । स्वास्थ्य सामग्री हस्तान्तरण र वितरणको कार्यलाई ती अस्पतालमा कार्यरत चिकित्सकहरुको प्रतिनिधित्व सहित काठमाडौं स्थित एउटा गैर नाफामूलक संस्था ईजीबीओएसएले सहजीकरण गरेको पनि कम्पनीले जनाएको छ ।
विद्यमान कोभिड १९ महामारीको दोश्रो लहरले मुलुकको स्वास्थ्य प्रणालीमा पारेको उल्लेख्य दवावलाई विचार गरी यस प्रकारको संकटको घडिमा कम्पनीले अन्य विभिन्न क्रियाकलापहरू समेत सञ्चालन गर्ने योजना रहेको जनाएको छ । यस वर्षको सुरुवातमा कम्पनीले ७ करोड रकम (प्रत्येक प्रदेशलाई १ करोडका दरले) ७ वटै प्रदेशहरूमा स्थापनमा गरिएको कोभिड १९ उपचार तथा नियन्त्रण कोषमा योगदान गरेको थियो ।