२ जेठ, काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजारको परिसूचक नेप्सेमा नयाँ रेकर्ड बनेको छ । आइतबार नेप्सेको अंक र कारोबार रकममा नयाँ रेकर्ड बनेको हो । ५४ अंकको उछाल आएसँगै परिसूचक २७३८ अंकमा पुगेको छ ।
कारोबार बन्द हुँदाको यो अंक अहिलेसम्मकै उच्च हो । ठीक एक महिनाअघि नेप्सेले २७३५ अंकको उच्च रेकर्ड बनाएको थियो । त्यस्तै कारोबार रकममा पनि नयाँ रेकर्ड बनेको छ । १० अर्ब ४४ करोड रुपैयाँको सेयर किनबेच भएको छ । सबै समूहहरु बढेका छन् ।
यस दिन बैंकिङ २७, ब्यापार ५१, होटल तथा पर्यटन ३५, विकास बैंक ११२, जलविद्युत ३०, फाइनान्स १६, निर्जीवन बीमा ५८४, उत्पादन ६३, अन्य ४५, माइक्रोफाइनान्स १०३ र जीवन बीमा समूह ५२८ अंकले बढेका छन् । त्यस्तै लगानी समूह २ अंकले बढेको छ ।
यस दिन रुरु जलविद्युत परियोजना, शिखर इन्स्योरेन्स, समता माइक्रोफाइनान्स, प्रोग्रेसिभ फाइनान्स, सप्तकोसी विकास बैंक, बरुण हाइड्रोपावर र आइएमई जनरल इन्स्योरेन्सको मूल्य साढे ९ प्रतिशतभन्दा धेरैले बढेको छ । त्यस्तै विशाल बजार कम्पनीको मूल्य ९.३ प्रतिशतले बढेको छ ।