
२ जेठ, काठमाडौं । कोभिड–१९का कारण उत्पन्न स्वास्थ्य संकटमा योगदान पुर्याउन चौधरी फाउन्डेसनले आइसियू वार्ड र अक्सिजन प्लान्ट स्थापना गर्ने भएको छ । नेपालको स्वास्थ्य प्रणालीमा दीर्घकालीन महत्व राख्ने केही परियोजनामा फाउन्डेसनले काम गर्ने निर्णय गरेको हो । फाउन्डेसनले देशकै जेठो वीर अस्पतालमा आइसियू वार्ड र अक्सिजन प्लान्ट स्थापना गर्ने भएको छ ।
वीर अस्पतालमा १८ शैयाको अत्याधुनिक आइसियू वार्ड र वीरकै नयाँ भवनमा अक्सिजन प्लान्ट स्थापना गरिने उसले जनाएको छ। एक–दुई दिनभित्रै चिकित्साशास्त्र अध्ययन प्रतिष्ठान (नाम्स) र चौधरी फाउन्डेसनबीच सहयोग सम्वन्धमा हस्ताक्षर हुनेछ ।
त्यसैगरी सुदूरपश्चिम प्रदेशको धनगढी नगरपालिका र कर्णाली प्रदेशको राजधानी रहेको सुर्खेत नगरपालिकामा एक–एक वटा अक्सिजन प्लान्ट स्थापना गर्ने बताएको छ । यस सम्बन्धमा दुवै नगरपालिकासँग आवश्यक सहमति भइसकेको पनि फाउन्डेसनले जनाएको छ ।
वीर अस्पताल, धनगढी र सुर्खेतमा स्थापना गरिने अक्सिजन प्लान्टको क्षमता ५० क्युविक लिटर÷प्रति घण्टा रहनेछ । यसअनुसार एक दिनमा ४० लिटर क्षमताका १५० सिलिन्डर अक्सिजन भर्न सकिनेछ । अक्सिजन प्लान्ट स्थापनाका लागि चौधरी फाउन्डेसनले आफ्ना साझेदार एवं स्थानीय नगरपालिकाहरूसँग सहकार्य गर्ने र अक्सिजन प्लान्ट केही दिनभित्रै आयात गर्ने जनाएको छ ।
धनगढी र सुर्खेतमा स्थापना हुने अक्सिजन प्लान्टले दुवै प्रदेशको अक्सिजन माग पूरा गर्नेछन् । यसका साथै चौधरी फाउन्डेसन तत्काल अक्सिजन कन्सन्ट्रेटर आयात गरी अक्सिजनको चर्को अभाव खेपिरहेका अस्पतालहरूलाई उपलब्ध गराउन प्रतिबद्ध रहेको पनि जानकारी गराएको छ ।
चौधरी फाउन्डेसनका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य विनोद चौधरीले कोरोना महामारीले देशभरका नागरिकलाई आक्रान्त बनाएको र यसको नियन्त्रणका लागि आपतकालीन स्वास्थ्य व्यवस्थापन अत्यन्तै जरुरी देखिएकाले फाउन्डेसनले एकीकृत योजना अगाडि सारेको बताए । उनले बिरामीको जीवन रक्षा गर्नु, यसका लागि आईसीयू वार्ड, अक्सिजन प्लान्ट, अक्सिजन कन्सन्ट्रेटर सबैभन्दा महत्वपूर्ण स्वास्थ्य उपकरण जुटाउन आफू अग्रसर भएको बताए ।