मुख्य समाचार

प्रधानमन्‍त्री ओलीको पुन: शपथको मागसहितको रिट दर्ता, मंगलबार सुनुवाइ हुने

kp oli sapath

३ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लिएको शपथ त्रुटीपूर्ण रहेकोले पुनः शपथ गराउन माग गरिएको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ । उक्त रिटउपर भोलि (मंगलबार) सुनुवाइ हुनेगरी पेसी तोकिएको जनाइएको छ ।

वरिष्ठ अधिवक्ता डा. चन्द्रकान्त ज्ञवालीसहित कानुन व्यवसायीहरू अधिवक्ता लोकेन्द्र ओली र केशरजंग केशीआइतबार उक्त रिट लिएर सर्वोच्च पुगेका थिए । रिट अध्ययनकै क्रममा रहेकाले दर्ता गर्न नसकिएको सर्वोच्च स्रोतले बताएको थियो । उनीहरूले वैशाख ३१ मा प्रधानमन्त्रीले लिएको शपथ त्रुटिपूर्ण रहेको र पुनः शपथ लिनुपर्ने भन्दै भन्दै रिट हालेका हुन् ।

प्रधानमन्त्री ओलीले शुक्रबार पद तथा गोपनीयताको शपथ ग्रहण गर्दा ‘मुलुक र जनताप्रति पूर्ण बफादार रही सत्य निष्ठापूर्वक यो प्रतिज्ञा गर्छु कि’ भनेर राष्ट्रपति विद्या भण्डारीले शपथ गराउँदा ओलीले ‘यो प्रतिज्ञा गर्छु कि’ भन्ने वाक्यांश छुटाएका थिए ।

राष्ट्रपति भण्डारीले उक्त वाक्यांश दोहोर्‍याएपछि ओलीले  ‘यो पर्दैन’ भनेका थिए । उनको जवाफ सुनेर राष्ट्रपति हाँसेकी थिइन् । ओलीले शपथका क्रममा ‘ईश्वर’ भन्ने शब्द पनि छुटाएका थिए ।

निवेदकहरुले दोस्रोपटक मन्त्री नियुक्त गरिएका मणिचन्द्र थापा, दावा लामा, टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु शाह, गौरीशंकर चौधरी र रामबहादुर थापा  ‘बादल’को नियुक्ति बदरको पनि गर्न माग गरेका छन् । ‘संघीय संसदको सदस्य नभएको व्यक्ति एकपटक मात्र मन्त्री हुन पाउने र ६ महिनाभित्र संसद सदस्यता लिनुपर्ने संवैधानिक व्यवस्था छ,’ सर्वोच्चमा दर्ता भएको रिटमा उल्लेख छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस