
४ जेठ, काठमाडौं । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी ओलीको शपथ विरुद्धको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको एकल इजलासले अन्तरिम आदेश जारी गर्नु नपर्ने ठहर गरेको हो ।
गत शुक्रबार प्रधानमन्त्रीको शपथ ग्रहण गर्दा ओलीले ‘प्रतिज्ञा गर्छु कि’ भन्ने वाक्यांश छुटाउँदा राष्ट्रपतिले फेरि दोहोर्याएर भन्दा ओलीले ‘त्यो पर्दैन’ भनेका थिए । ‘त्यो पर्दैन’ भनेर शपथ लिनु संविधान विपरीत हुने भन्दै शपथ बदर गर्न सर्वोच्चमा सातवटा रिट परेका थिए । प्रधानमन्त्रीले शपथको प्रक्रिया पूरा नगरेको जिकिर ती रिटमा थिए ।
प्रधानमन्त्रीको कामकारबाही नगर्न/नगराउन र शपथ फेरि लिन रिटमा अन्तरिम आदेश मागिएको थियो । यसमा जबराको इजलासले अन्तरिम आदेश दिन अस्विकार गरेको हो । तर शपथसम्बन्धी रिटमा सर्वोच्च अदालतले राष्ट्रपति कार्यालय र प्रधानमन्त्रीसँग १५ दिनभित्र लिखित जवाफ माग गरेको छ ।