मुख्य समाचार

निषेधाज्ञा उल्लंघन गर्दै सडकमै भोजभतेर !

buffet dinner

४ जेठ, काठमाडौं । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड-­१९ को संक्रमण दर दिन प्रतिदिन बढ्न थालेपछि सरकारले निषेधाज्ञाको घोषणा गरेको छ । यता नागरिक भने त्यसको अवज्ञा गर्दै आफ्नो दैनिकीलाई पहिला झैं सहज ठानी रहँदा जोखिम झन् बढ्दै गएको छ ।

संक्रमण बढ्दै गएपछि प्रशासनले जिल्लामा १० दिनदेखि निषेधाज्ञा गरेको छ । स्थानीयबासी भने निषेधाज्ञा उल्लङ्घन गर्दै बिहे, व्रतबन्ध र भोजभतेरमा सहभागी भइरहेका छन् । यस्ता सामाजिक कार्यमा मानिसको भीड नियन्त्रण भन्दा बाहिर छ। यसतर्फ सरोकारवाला निकायले समेत चिन्ता, वास्ता र चासो देखाएको छैन ।

कविलासी नगरपालिका–२ पिपरियामा हालै सडकमै बिहे भोजको आयोजना गरिएको छ । सयौंको सङ्ख्यामा उपस्थित भएर स्थानीय भोज खाने कार्यक्रममा सहभागी भएका छन् । सडकमै भोज गर्ने र भोज चलिरहेकै समयमा अतिआवश्यकीय सवारी साधनहरू सञ्चालनमा समेत समस्या सिर्जना हुने गरेको एक एम्बुलेन्स चालक नागेन्द्र साहले गुनासो गरे ।

गाउँका पसल र हाट बजारमा भीडभाड घटेको छैन । ‘प्रशासनले सामाजिक कार्य गर्नै परे १५ जनाभन्दा बढी उपस्थित नहुन निर्देशन दिएको छ, तर यहाँ सयौंको सङ्ख्यामा जम्मा हुने गरेका छन्’, उनले भने ।

प्रमुख जिल्ला अधिकारी हेमराज तामाङले निषेधाज्ञाको पालना गराउन कुनै कसर बाँकी नराखिएको दाबी गर्नुभयो । ‘‘जनतामा चेतनाको कमी छ, तैपनि हामीले निषेधाज्ञा पालना गराउन लागिपरेका छौँ, सहरी क्षेत्रमा निषेधाज्ञा पूर्णरूपमा पालना भइरहेको छ, ग्रामीण भेगमा अलि समस्या छ,’’ उहाँले भन्नुभयो । यसमा स्थानीय तह पनि जिम्मेवार हुनुपर्ने उहाँको भनाइ छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस