मुख्य समाचार

प्रधानमन्त्री ओलीले निर्वाचन आचारसंहिता उल्लंघन गरे, आयोगको आपत्ति

KP Oli

५ जेठ, काठमाडौं । वाग्मती प्रदेशमा जेठ ६ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेका उम्मेदवारलाई जिताउन अपिल गरेका छन् । प्रधानमन्त्री ओलीले निर्वाचन आचारसंहिता उल्लंघन गर्दै आफु पक्षीय उम्मेदवार रामबहादुर थापलाई जिताउन आग्रह गरेका हुन् ।

जेठ ३ गते रातिदेखि मौन अवधि सुरु भएको अवस्थामा प्रधानमन्त्रीले निर्वाचन आचारसंहिता उल्ंघन गरेका हुन् । निर्वाचन आचारसंहिता २०७२ मा पनि मौन अवधिमा पालन गर्नुपर्ने आचरण बुँदामा ‘निर्वाचन प्रचार प्रसार गर्न र मत माग्न नहुने’ भनिएको छ । तर प्रधानमन्त्रीले निर्वाचनको एक दिनअघि पार्टीको आधिकारिक उम्मेदवारको पक्षमा मत माग्दै मत नदिए क्षम्य नहुने चेतावनीसमेत दिएका छन् ।

निर्वाचन कानुनका जानकारहरुले यसरी मौन अवधिमा अपील जारी गरेर भोट माग्नु अनि मतदाताहरुमा धम्कीको भाषा प्रयोग गर्नु निर्वाचन आचारसंहिता विपरीत भएको बताएका छन् । निर्वाचन आयोगले पनि यसमा आफ्नो ध्यानाकर्षण भएको बताइसकेको छ ।

पूर्वप्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेती यसरी मौन अवधिमा सरकारले फलानालाई मतदान गर भन्नु आचारसंहिताको उल्लंघन भएको बताउँछन् । उनी भन्छन्, ‘यो आचारसंहिताको उल्लंघन हो, प्रधानमन्त्रीले यसो नगरेको भए हुन्थ्यो । प्रधानमन्त्री वा पार्टी नेता कसैले पनि मौन अवधिमा यस्तो कार्य गर्न पाइँदैन ।’

विगतका सरकारहरुले पनि चुनावका बेला यसै गरी आचारसंहिता उल्लंघन गर्ने र मन्त्रीहरु नियुक्त गर्ने गरेको सम्झँदै उप्रेतीले भने,‘ राजनीतिक दलहरूलाई कति सम्झाउने ? हामी भन्दाभन्दै थाकिसक्यौँ । यसरी आचारसंहिता उल्लंघन गर्नेलाई कानून अनुसार कारवाही हुनुपर्ने हो ।’

राष्ट्रियसभाको सदस्य पदका लागि विहीबार हेटौंडामा मतदान हुँदैछ । मतदानको अघिल्लो दिन प्रधानमन्त्री ओलीले अपील जारी गर्दै  एमाले उम्मेदवार बादललाई मतदान नगरे क्षम्य नहुने भन्दै स्थानीय तह र प्रदेशका एमाले जनप्रतिनिधिहरूलाई चेतावनी दिएका हुन् ।

राष्ट्रियसभामा एमालेकै दुई उम्मेदवार छन् । माधव नेपाल पक्षले काँग्रेस र माओवादीको समर्थनमा वामपन्थी बुद्धिजीवी डा. खिमलाल देवकोटालाई उम्मेदवार बनाएको छ । नेता नेपालको सचिवालयले पनि मौन अवधि सुरु भइसकेपछि मंगलबार प्रेस नोट जारी गर्दै बादललाई सघाउन नसकिने बताएको छ ।

निर्वाचन आयोगले अभिलेख राख्ने 

यसैबीच, निर्वाचन आयोगले बुधबार एक विज्ञप्ति जारी गर्दै मौन अवधिमा भोट मागेर जारी गरिएको अपीलप्रति आयोगको ध्यानाकर्षण भएको जनाएको छ ।

यसरी आचारसंहिता उल्लंघन गर्नेहरुको अभिलेख निर्वाचन आयोगले राख्ने आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताएका छन् ।

हेर्नुहोस् निर्वाचन आयोगको विज्ञप्ति

Press Release

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *