६ जेठ, काठमाडौं । नेकपा माओवादी केन्द्रले कोरोना नियन्त्रणका लागि सरकारले गठन गरेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) खारेज गर्न माग गरेको छ । माओवादी पार्टी कार्यालय पेरिसडाँडामा बिहीबार बसेको माओवादी स्थायी कमिटी बैठकले सीसीएमसी संवैधानिक नभएकाले खारेजीको माग गर्ने निर्णय गरिएको माओवादी स्थायी कमिटी सदस्य बर्षमान पुनले बताए ।
‘सरकारले कोभिडकाबारेमा काम गर्दा के के कुरामा ध्यान दिनुपर्छ भनेर शुक्रबार ज्ञापनपत्र बुझाउने निर्णय भएको छ’, नेता पुनले भने, ‘सीसीएमसी खारेज गर्नुपर्छ त्यो अनावश्यक संयन्त्र भयो ।’ माओवादीले सीसीएमसीले काम गर्न नसकेको भन्दै खारेज गरेर कानुनले चिनेको प्रधानमन्त्रीको नेतृत्वको विपद व्यवस्थापन समिति या गृहमन्त्री नेतृत्वको विपद व्यवस्थापन प्राधिकरणलाई क्रियाशील बनाउनुपर्ने सुझाव समेत दिने भएको छ ।
त्यस्तै माओवादी केन्द्रले कोभिड नियन्त्रणका लागि प्रधानमन्त्रीको नेतृत्वमा सर्वपक्षीय सर्वदलीय संयन्त्र बनाउन पनि माग गर्ने भएको छ । कोभिड नियन्त्रणमा सरकार पुरै असफल भएको र स्वास्थ्य सामाग्री खरिददेखि वितरणसम्ममा भएको अनियमितताको निन्दा गर्दै माओवादीले स्वास्थ्य उपकरणहरुको अविलम्ब व्यवस्था गर्न माग गरेको छ ।
माओवादी बैठकले अत्यावश्यक बाहेकका राजनीति नियुक्तिहरु रोक्न तथा अनुपयुक्त क्षेत्रको खर्च घटाएर कोभिढ नियन्त्रणमा जुट्न सरकारसँग माग गरेको छ । ‘संक्रमणको पहिलो र दोस्रो लहरबाट सरकारले शिक्षा लिएको देखिएन । अहिले तेस्रो लहर आइसक्यो । त्यसैले पहिलेबाट शिक्षा लिदै तेस्रो लहरबाट जनतालाई बचाउन पर्याप्त गृहकार्य र तयारी गर्नुपर्ने आवश्यक्ता छ’, नेता पुनले भने, ‘ हामी त्यसका लागि सरकारलाई झक्झक्याउँछौ ।’