
७ जेठ, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले गृहजिल्ला दोलखामा ‘होम आइसोलेसन किट’को व्यवस्था गरेका छन् । दोलखाका प्रतिनिधिसभाका सांसद समेत रहेका मन्त्री गुरुङले कोभिड संक्रमण भएको शंका लागेमा वा पुष्टि भएमा दोलखाका सर्वसाधरणले घरमै बसेर प्रारम्भिक चरणको उपचार गर्नका लागि ‘होम आइसोलेसन किट’सहितको स्वास्थ्य सुरक्षा सामग्री घरघरमा पुुग्ने गरी पठाएका हुन् ।
‘स्थानीय तहका जनप्रतिनिधि र स्वास्थ्यकर्मीहरुको उपस्थितिमा वितरण गर्ने व्यवस्था मिलाइएको सो सामग्री संक्रमितहरुले प्रारम्भिक चरणको उपचार घरैमा बसेर गर्न मिल्ने व्यवस्थासहित पठाइएको हो’, उनले भने, ‘दोलखा हेल्थ फाउन्डेशनको सहकार्यमा जिल्लाका सबै स्थानीय तहमा आवश्यक्ताको आधारमा वितरण गरिनेछ ।’
शुक्रबार (आज) काठमाडौंबाट पठाइएको औषधिसहितको सो किटमा चिकित्सकहरुको परामर्शमा संक्रमितहरुका लागि अत्यावश्यक औषधीहरु तथा स्वास्थ्य सुरक्षा सामग्रीहरु रहेका छन् । काठमाडौंका अस्पतालहरुमा संक्रमितहरुको चाप बढन थालेपछि घरमै प्रारम्भिक चरणको उपचारको व्यवस्थाका लागि आवश्यक परामर्श लिन उनले आफ्नै सक्रियतामा दोलखा घर भई काठमाडौंलगायतका देशका विभिन्न भागमा रहेर काम गरिरहेका चिकित्सक तथा स्वास्थ्यकर्मीहरु रहेको सो फाउन्डेसनको स्थापना गरेका हुन् ।
मन्त्री गुरुङले दोलखाली जनतालाई कोभिड संक्रमण हुन नदिन, भए उपचारका लागि परामर्श लिने, अस्पतालहरुमा आवश्यक्ता परे उपचारको राम्रो व्यवस्था गर्न सो फाउन्डेसनले काम गर्ने समेत स्पष्ट पारे । हरि जिरेल संयोजकत्वमा निर्माण भएको फाउन्डेसनमा चिकित्सक तथा स्वास्थ्यकर्मीहरु रहेका छन् ।