८ जेठ, काठमाडौं । नेकपा (एमाले) बागमती प्रदेश संसदीय बोर्डको बैठकले माधव नेपाल समूहका बागमती प्रदेशसभा सदस्यलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । मुख्यमन्त्री डोरमणि पौडेलको निवासमा बसेको संसदीय बोर्डको बैठकले उपनिर्वाचन पार्टीको ह्विप उल्ङघन गरी प्रदेश सांसदहरूले विपक्षी उम्मेदवार डा. खिमलाल देवकोटालाई मतदान गरेको भन्दै स्पष्टीकरण सोधेको हो ।
एमालेका मुख्य सचेतक दीपक निरौलाका अनुसार स्पष्टीकरण सोधिनेमा अष्टलक्ष्मी शाक्य, राजेन्द्र पाण्डे, अरुणप्रसाद नेपाल, रचना खड्का, कुसुमकुमार कार्की, वसुन्धरा हुमागाईँ, मुनु सिग्देल, इन्द्रमाया गुरुङ, कृष्णप्रसाद खनाल, वसन्तप्रसाद मानन्धर, शान्तिराम पौडेल, मीना ज्ञवाली, लक्ष्मण लम्साल र पार्वती सिलवाल रहेका छन् ।
राष्ट्रियसभा निर्वाचनमा सत्तारूढ एमालेका आधिकारिक उम्मेदवार थापालाई स्वतन्त्र उम्मेदवार देवकोटाले पराजित गरेका थिए । प्रदेशतर्फ थापाले ४५ मत प्राप्त गर्दा देवकोटाले ५८ मत प्राप्त गरेका थिए । एमालेको प्रदेशसभामा ५६ मत छ । नेपाल मजदुर किसान पार्टीका कृष्णबहादुर तामाङले दुई मत प्राप्त गरेका थिए ।