१० जेठ, काठमाडौं । बुटवल गोलपार्कका ५८ वर्षीय पुरुषलाई सामान्य ज्वरो आयो । घरमै रहेको सिटामोल खाएपछि हल्का भएको ज्वरो फेरि अर्काे दिन आयो । फेरि औषधि खाए। अर्काे दिन शरीर दुख्यो । अनि सामान्य खोकी पनि लाग्यो ।
शरीर कमजोर हुँदै गए पनि उनी कोरोना परीक्षण गर्न गएनन् । छैटौं दिन उनी उठ्नै सकेनन् । अक्सिजनको तह ८० भन्दा तल पुगिसकेको थियो । परिवारका सदस्यले घरमै अक्सिजन पु¥याएर दिए । तर, उनमा केही सुधार भएन । केही समयमै उनलाई लुम्बिनी प्रादेशिक अस्पताल पु¥याए । अस्पतालमा भीडभाडले उनले बेड पाएनन् ।
बेड खोज्दा खोज्दै आधा दिन बित्यो । एम्बुलेन्समा राखिएका उनलाई भैरहवातर्फ लगियो । तर, अस्पतालसम्म पुग्न पाएनन् । एम्बुलेन्समै उनको निधन भयो । प्रादेशिक अस्पताल आएपछि कोभिड परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो । ‘बुवाले अस्पताल जान समयमै नमान्दा बचाउन सकिएन,’ उनका छोराले भने ।
बुटवल–११ का दीपक ज्ञवाली १० वैशाखमा ज्वरो आएर मेडिकल पुगे । मेडिकलका चिकित्सकले उनलाई टाइफाइड ज्वरो भन्दै औषधि दिए । दुई दिन खाए, ज्वरो निको भएन । उनका दाजु फेरि मेडिकल पुगे र भाइलाई सुधार नभएको बताए । मेडिकलका चिकित्सकले सात दिनको औषधि खाए ठीक हुन्छ भनेर फर्काए । बिहेको तरखरमा रहेका उनी ज्वरो आउँदासमेत केटी हेर्न गुल्मी पुगे । वैशाख १५ गते औषधि खाएरै बिहे मण्डपमा बसे । उनको स्वास्थ्य कमजोर भयो । बिहे मण्डपबाटै उनलाई अस्पताल लगियो । तर, अस्पतालबाट फर्किएनन् । आईसीयूमा पुगेका उनको २९ गते मृत्यु भयो ।
कोरोना महामारीका बेला मिल्दोजुल्दो लक्षण देखिए पनि मेडिकल तथा आफैं औषधि किनेर खाँदा भएका ठूला क्षतिका उदाहरण हुन् यी । लुम्बिनी प्रादेशिक अस्पतालका चिकित्सकका अनुसार अन्तिम अवस्थामा आउने धेरै बिरामीको उपचारका क्रममा मृत्यु भएको छ । प्रादेशिक अस्पतालका कोरोना फोकल पर्सन डा. नन्दु पाठकले यो समयमा कोरोनाका लक्षणहरूलाई कमजोर आँकलन गर्नै नहुने बताए । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।