
१३ जेठ, गुल्मी । परराष्ट्रमन्त्री एवम् गुल्मी क्षेत्र नम्बर १ का सासंद प्रदीपकुमार ज्ञवालीले गृहजिल्ला गुल्मीको लागि स्वास्थ्य सामग्री पठाएका छन् । गुल्मी अस्पतालसहित जिल्लाका अन्य प्राथमिक स्वास्थ्य चौकीहरुका लागि उनले अक्सिजनसहितका सिलिन्डर, मास्क, कन्सन्टेटर लगायतका स्वास्थ्य सामग्री पठाएका हुन् ।
पठाइएका सामग्री उनका स्वकीय सचिव जङ्ग नेपालीले बिहीबार प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मालाई हस्तान्तरण गरे । जिल्लाका चार प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य कार्यालय र गुल्मी अस्पतालका लागि ६० वटा अक्सिजनसहितका सिलिन्डर, नौ वटा कन्सन्टेटर, ६ हजार सर्जिकल माक्स, ६० लिटर सेनिटाइजर, एन् नाइन्टी फाइभ माक्स ५ सयवटा हस्तान्तरण गरिएको छ ।
स्वकीय सचिव नेपालीका अनुसार गाउन र पिपिई दुई/दुई सय थान, एन्टिजेन्ट किट १ हजार ५ सय, बेड ५ वटा लगायतका स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । प्रमुख जिल्ला अधिकारी शर्माले स्वास्थ्य सामग्री ल्याउन पहल गर्ने परराष्ट्रमन्त्री लगायत सबैलाई धन्यवाद दिइन् ।