१४ जेठ, काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले नेपालगञ्जस्थित भेरी अस्पताल र पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा चिकित्सक र नर्सहरूमाथि भएको सांघातिक आक्रमणको निन्दा गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत् खेद जनाएका हुन् ।
“कोरोना महामारीको संकटमा अहोरात्र स्वास्थ्य सेवामा खटिरहँदा नेपालगञ्जस्थित भेरी अस्पताल र पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा चिकित्सक र नर्सहरूमाथि भएको सांघातिक आक्रमण निन्दनीय, भर्त्सनायोग्य र कानूनी कार्बाहीमा ल्याउनुपर्ने एउटा खेदजन्य कार्य हो,” उनले भनेका छन् ।
सरकार नागरिकलाई सर्वसुलभ स्वास्थ्य सुविधा दिनमा चुकेको बताउँदै चिकित्सकको सुविधा, मनोबल बढाउन मात्र हैन उनीहरुलाई सुरक्षित वातावरणमा काम गर्ने प्रबन्ध मिलाउन पनि नसकेको यो घटनाले प्रष्टाएको उनको ठहर छ । उनले घटनाको छानबीन गरी आक्रमणमा संलग्न जोकोहीलाई यथाशीघ्र कारबाही गर्न आग्रह पनि गरेका छन् ।