समाचार

लोकतान्त्रिक गणतन्त्रको राजनीतिक अभ्यास बिचरो बन्न पुग्यो- पूर्वअध्यक्ष रेग्मी

khilraj regmi

१४ जेठ, काठमाडौं । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले सधैँ राजनीतिक विवादलाई अदालतको प्राङ्गणमा पुर्याउने र त्यहाँको परेड खेल जस्तो दृश्यले लोकतान्त्रिक गणतन्त्रको राजनीतिक अभ्यास बिचरो बन्न पुगेको महसुस भएको बताएका छन् ।

चौधौंँ गणतन्त्र दिवस (जेठ १५) का उपलक्ष्यमा दिएको सन्देशमा उनले मुलुकलाई कोरोना महामारीले गाँजेका बेलामा सबै जुटेर नागरिकको जीवन सुरक्षित गर्ने विषयलाई सर्वाधिक प्राथमिकता बनाउन सुझाव दिएका छन् ।

सन्देशमा भनिएको छ, “राजनीति आफैँमा समस्या नबनी जनजीविकाको समस्या समाधान गरी समृद्ध नेपालको परिकल्पना साकार पार्ने औजार बन्न सके मात्र गणतन्त्र दिवस मनाउनुको सार्थक सन्देश हुनेछ ।” पूर्वप्रधानन्यायाधीश रेग्मीले बहुदलीय शासन प्रणालीमा नागरिक सर्वोच्चताको व्यवहारिक कार्यान्वयन र अभ्यासमा राजनीतिक दल र नेतृत्वको अहम् भूमिका अपेक्षित र महत्वपूर्ण हुने उल्लेख गरेका छन् ।

उनले सन्देशमा भनेका छन्, “राजनीतिक खिचातानी र कोभिडको महामारीले नेपाली जनजीवन उदेक लाग्दो चक्रव्यूह र कष्टकर जीवनयापन गर्न अभिशप्त रहँदै आएको छ । आर्यघाटको लासको चाङको दारुण दृश्य र चिताको चित्कारले के सन्देश दिइरहेछ ?” पूर्वअध्यक्ष रेग्मीले गणतन्त्र दिवसका उपलक्ष्यमा सम्पूर्ण नेपालीमा समानता, समृद्धि र शान्तिपूर्ण जीवनका लागि शुभकामना पनि व्यक्त गरेका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस