
१५ जेठ, काठमाडौं । विवेकशील पार्टीका पूर्वअध्यक्ष उज्वल थापाको परिवारले बिएण्डसी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंको सहयोग अस्वीकार गरेका छन् । नेपाल मेडिसिटी अस्पतालमा ईसीएमओ प्रविधिमार्फत थापाको उपचार भइरहेको जानकारी गराउँदै उनका परिवारले प्रसाईंको सहयोग आवश्यक नपर्ने जानकारी दिएका छन् ।
प्रसाइले शनिवार बिहान एक विज्ञप्ति जारी गर्दै थापाको सम्पूर्ण उपचार खर्च आफूले बेहोर्ने बताएका थिए । थापाका परिवार सदस्यले आफन्तजन, साथी तथा शुभेच्छुकहरूबाट प्राप्त सहयोगले नै स्वास्थ्य उपचारको खर्च व्यहोरिरहेको र भविष्यमा पनि त्यसै गर्ने भएकोले प्रसाईंलाई सद्भावको लागि धन्यवाद ज्ञापन गर्दै सहयोग आवश्यक नपर्ने जनाएका छन् ।
त्यस्तै, परिवारका अनुसार थापाको उपचारका लागि गोफन्डमीमा खोलिएको खातामा अमेरिकी डलर २२,२९१ र नेपालमा बैंक खातामा करिब २६,५०,००० रकम जम्मा भइसकेको छ । कोरोना संक्रमणबाट गम्भीर बिरामी परेपछि मेडिसिटी अस्पतालमा थापाको उपचारमा भइरहेको छ ।