१५ जेठ, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले शुक्रबार कोेभिड–१९ भाइरसको उत्पत्तिबारे अध्ययन ‘राजनीतिकरणको विषय नभएको’ भन्दै यसलाई राजनीतिकरण नगर्न आग्रह गरेको छ ।
अध्ययनको सम्पूर्ण प्रक्रियालाई राजनीतिले बिगारेकोे संगठनले जनाएको हो । जेनेभामा शुक्रबार डब्ल्यूएचओले गरेको पत्रकार सम्मेलनमा बोल्दै डब्ल्यूएचओ स्वास्थ्य संकटकाल कार्यक्रमका कार्यकारी निर्देशक माइक रायनले भने, “सम्बन्धित सबैले यस (कोभिड–१९ को उत्पत्ति)को विषयलाई राजनीति होइन, वैज्ञानिक तरिकाले हेर्नुपर्छ ।
अनुसन्धानमा सघाउनुपर्छ र अध्ययनको रिपोर्ट विवादरहित बनाउनुपर्छ । यदि, तपाइँले वैज्ञानिकहरूको कामको अपेक्षा गर्नुहुन्छ भने तपाइँ वैज्ञानिकहरूसँग सहकार्य गर्न सक्नुहुन्छ र यसबाट तपाइँले चाहनुभएको जवाफहरू प्राप्त गर्नुहुन्छ । वास्तवमा भाइरसको उत्पत्ति पत्ता लगाउन दोषारोपणरहित वातावरणको आवश्यक छ । भाइरस उत्पत्तिको विषय राजनीतिक दोष नलागेको हुनुपर्छ ।”
डब्ल्यूएचओका वरिष्ठ अधिकारीले सार्स–कोभ २ भाइरसको सम्भावित उत्पत्तिसम्बन्धी समाचार, प्रमाण वा नयाँ सामग्रीका साथ ‘सञ्चारमाध्यममा अधिक छलफल भएको’ र यो चिन्ताको विषय भएको बताएका छन् । हाल अमेरिकाले डब्लूएचओको अनुसन्धानलाई विश्वसनीय नठानेर आफ्ना वैज्ञानिकलाई यसको उत्पत्तिबारे छुट्टै अनुसन्धान गर्न भनेको छ । अमेरिकी संचारमाध्यममा चीनको प्रयोगशालामा कोरोना भाइरस निर्माण गरिएको आरोप लगाइएको छ ।
राष्ट्रपति जो बाइडेनले पनि डब्लूएचओको अनुसन्धान बेवास्ता गर्दै कोरोना चीनको ल्याबमै बनेको विषयमा अघोषित रुपमा जोड दिइरहेका छन् । यसरी चीनलाई कोरोना फैलनुमा आरोप लगाउँदै आफ्नो अनुसन्धानमा प्रश्न उठाएपछि डब्लूएचओले भाइरसको विषय राजनीतिकरण नगर्न भनेको हो । डब्लूएचओले भनेको छ, “कोरोनाको विषयमा भएको वर्तमान राजनीतिकरणले डब्ल्यूएचओलाई जवाफ दिन कठिन बनाएको छ ।” भाइरसको उत्पत्ति पत्ता लगाउन धेरै अध्ययन र बहु अभियानहरू आवश्यक पर्दछन् यसका लागि सहयोग, खुलापन र समय आवश्यक रहेको निर्देशक रायन बताउँछन् ।