१६ जेठ, काठमाडौं । विश्व बैंक समुह युवा सम्मेलन २०२१ को नेपाली प्रतिनिधिमा युवा वैज्ञानिक निश्चल बानियाँ छनौट भएका छन् । दुई दिने उक्त कार्यक्रम भचुर्अल माध्यममा जेठ २६ र २७ गते चल्नेछ । यो सम्मलेन विश्व वैंक समुहको सबैभन्दा ठुलो स्वयमसेवीहरुको सँस्था युथ-टु-युथ नेटवर्क सम्बद्ध कार्यक्रम हो । युथ-टु-युथ नेटवर्कले युवाहरुको सशक्तिकरणमा काम गरिरहेको छ ।
अन्तर्राष्ट्रिय स्तरमा युवाहरुले सामना गरिरहेको विभिन्न चुनौतिहरुलाई सम्बोधन गर्न युवाहरुलाई सशक्तिकरण गर्ने, युवाहरुलाई प्रभावकारी परियोजनाहरुमा संलग्न गराउने साथै युवा, विश्व वैँक समुह र अन्य सरोकारवालाहरु बीचको अन्तर्कृया प्रोत्साहन गर्न विश्व बैंक समुहले सन् २०१३ देखि सम्मेलनको आयोजना गर्दै आएको छ ।
‘रेजिलियन्ट रिकभरी फर पिपुल एण्ड प्लानेट’ नारा सहित आयोजना हुनगइरहेको यस सम्मलेनमा विभिन्न विषयहरुसँग सम्बन्धित सत्रहरु र प्रतिस्पर्धात्मक गतिविधिहरु हुनेछन् । सहभागिहरुले जलवायु परिवर्तन सम्बन्धि चुनौतिहरुलाई सम्बोधन गर्नको लागि आवश्यक छलफल गर्ने र विश्व बैंक समुहका विज्ञहरुबाट सम्बन्धित विषयहरुमा परामर्श लिने अवसर पनि पाउनेछन् ।
यस कार्यक्रममा बिश्व बैंक समुहको वरिष्ठ उपाध्यक्ष डा सन्दी ओकोरो, विश्व बैंकका वातावरणीय अर्थशास्त्री डेभिड काकजान, संयुक्त राष्ट्र महासचिवका युवाहरुको लागि दूत जयथ्मा विक्रमनायाके लगायत वक्ताहरुको सहभागिता रहनेछ । बानियाँ बाग्मती युनेस्को क्लबका प्रमुख कार्यकारी अधिकृत हुन् । उनले कलबको सिफारिसमा सम्मेलनको सहाभागिताका लागि आवेदन दिएका थिए ।