
१८ जेठ, काठमाडौं । कोरोना भाइरस महामारीले मानव समुदायलाई आक्रान्त बनाएको छ । निषेधाज्ञाका कारण अधिकांश नेपाली अत्यावश्यक कामबाहेक घरबाहिर निस्किन पाएका छैनन् ।
यस्तो बेला मन बहलाउन, सूचना ग्रहण गर्न, आफन्त तथा परिवारजनसँग वातचित गर्न सामाजिक सञ्जालको प्रयोग बढ्नु स्वाभाविकै हो । तर, फेसबुक, ट्विटर, टिकटकलगायत सञ्जालमा राखिने कतिपय ‘पोस्ट’ले खिन्न मात्रै होइन आतंकित नै बनाउँछन् । शवको तस्बिर, अनेक अफवाहलगायत सामग्रीले पीडितलाई त पीडा थप्छ नै सद्देलाई पनि बिरामी बनाउँछ ।
भक्तपुरको गठ्ठाघर बस्ने प्रवीण निरौला अहिले आफूलाई सामाजिक सञ्जालले मानसिक रूपमा कमजोर बनाएको बताउँछन् । मृतकका वीभत्स तस्बिर राखेर सामाजिक सञ्जाल भरिँदा सञ्चै रहेका आफन्तलाई थप पीडा दिने गरेको निरौलाको बुझाइ छ ।
‘फेसबुकको वाल हेर्नै मन लाग्दैन। कोरोना लागिहाले उपचार नपाएर मरिन्छ कि भनेरै अत्तालिन्छु । बच्चाहरूको खुब माया लागेर आउँछ’, उनी भन्छन्, ‘गलत सूचना र फोटोहरू पनि उत्तिकै सेयर भइरहेको हुन्छ । घरमा सामान्य खोकी लागे पनि कोरोनाले छोयो कि भनेर यसै बढी हुन्छ । औषधि लिन दौडिहाल्छु ।’ मृतकको कारुणिक तस्बिर पोस्ट गर्ने प्रतिस्पर्धाजस्तै देखिएको छ ।
कसले छिटो पोस्ट गर्ने भनेजस्तो गलत प्रवृत्तिको विकास भएको छ । हुन त मृतकलाई श्रद्धाञ्जली व्यक्त गर्नु स्वाभाविकै हो । तर, सञ्जाल प्रयोगकर्ता संयमित नहुँदा आफन्त मात्रै होइन अरूलाई असर पर्ने तस्बिरसहितका पोस्टहरू भइरहेका छन् । जसले गर्दा अहिले सामाजिक सञ्जाल हेरिनसक्नु बनेको छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।