समाचार

स्वास्थ्य सामाग्रीमा कालोबजारी गर्ने ३७ पक्राउ

arrest

१९ जेठ, काठमाडौं । अक्सिजन सिलिन्डर, ह्यान्ड स्यानिटाइजर, अक्सोमिटर, मास्क, पञ्जा, रेम्डिसिभिरलगायतका स्वास्थ्य सामग्रीका साथै अन्य अत्यावश्यक सामग्रीको कालोबजारी गर्ने ३७ जनालाई प्रहरीले पक्राउ गरी कारवाही गरेको छ ।

पछिल्लो एक महिनाको अन्तरालमा उनीहरुलाई विभिन्न जिल्लाबाट पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । कोभिड–१९ सङ्क्रमणको समयमा त्यसको फाइदा उठाउँदै उनीहरुले कालोबजारी गरेकाले कालोबजारी तथा केही अन्य सामाजिक अपराध ऐन, २०३२ अन्तर्गतको कसूरमा अनुसन्धान मुद्धा चलाइएको प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिए ।

पक्राउ परेका मध्ये १२ अक्सोमिटर, ८ पिसिआर परीक्षणको नक्कली प्रतिवेदन बनाउने, ४ जना ह्यान्ड स्यानिटाइजर कालोबजारी गर्ने, ३ जना अक्सिजन सिलिन्डर कालोबजारी गर्ने  तथा ५ जना प्रहरीमाथि अभद्र व्यवहार गर्नेलगायत रहेका छन् ।

उनीहरुबाट १३ हजार ७ सय ५६ लिटर स्यानिटाइजर तथा करिब २५ हजार लिटर नक्कली स्यानिटाइजर, ५५ वटा अक्सोमिटर तथा ७६५ वटा नक्कली अक्सोमिटर, छ  हजार ६०० लिटर इथानोल रसायन, विभिन्न स्टिकर, ४६ वटा कार्टुन विभिन्न औषधिलगायत बरामद गरिएको छ ।

सो अवधिमा काठमाडौं, रामेछाप, काभ्रेपलान्चोक, बारा, महोत्तरी, खोटाङ, बर्दिया लगायतका जिल्लाहरूमा सवारी साधन दुरुपयोग गरी बढी भाडा लिएर यात्रु बोक्ने सवारी साधनहरूलाई कारबाही गरिएको छ । बाँके नेपालगञ्ज उपमहानगरपालिका–८ स्थित मारुती नन्दन जनरल स्टोरबाट मिति सकिएका करिब एक लाख ५० हजार रुपैयाँ मूल्य बराबरको खाद्य सामग्री बरामद गरी नष्ट गरिएको थियो ।

देशमा शान्ति सुरक्षा कायम राख्ने, अपराध नियन्त्रण तथा अनुसन्धान गर्ने लगायतका नियमित कामको साथै कोभिड–१९ को सङ्क्रमण रोकथाम र नियन्त्रण गर्ने, निषेधाज्ञा पालना गराउने एवं विषम परिस्थितिको फाइदा उठाउँदै हुने गरेको कालोबजारी नियन्त्रणमा समेत नेपाल प्रहरीले सक्रिय भूमिका निर्वाह गर्दै आइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस