
२१ जेठ, काठमाडौं । पूर्व सांसद विष्णुलाल तामाङ (बिएल वाइबा) काे निधन भएकाे छ । काेराेना संक्रमित भएपछि उपचारका क्रममा उनकाे बिहीबार साँझ निधन भएकाे हाे ।
उच्च रक्तचाप र मधुमेहबाट समेत पीडित वाइबाको उपचारको क्रममा झापाको दमकस्थित आम्दा अस्पतालमा निधन भएको हो । उनका तीन छोरा र दुई छोरी छन् । उनकाे निधनप्रति माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दु:ख व्यक्त गरेका छन् ।
‘वाइबाको निधनले नेपाली राजनीतिले सच्चा राष्ट्रवादी अग्रगामी नेता गुमाएको छ भने कम्युनिष्ट आन्दोलनले आफ्नो अभिभावक गुमाएको छ । सादा जीवन, सरल र जुझारु कमरेड वाइबा किसान र मजदूरबीच लोकप्रिय हुनुहुन्थ्यो । उहाँ नयाँ पुस्तालाई वर्ग संघर्षका वीरतापूर्ण गाथा सुनाई उर्जावान बनाई रहनुहुन्थ्यो । कमरेड वाइबाका जीवनपयोगी भोगाइ परिवर्तनकारी एवं क्रान्तिकारी युवाहरुका लागि प्रेरणाको स्रोत बन्ने विश्वास लिँदै उहाँप्रति पुनः एकपटक श्रद्धा सुमन प्रकट गर्दछु’, प्रचण्डले भनेका छन् ।