२१ जेठ, काठमाडौं । कोभिड–१९ सङ्क्रमण नियन्त्रणका लागि जारी भएको काठमाडौं उपत्यकाको निषेधाज्ञाका समयमा आजदेखि खाद्य पसल खोल्न पाइने छ । उपत्यकाका तीन जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीसहित बुधबारको बैठकले आजदेखि लागू हुने गरी केही खुकुलो पार्दै १० दिन निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको थियो ।
जेठ ३१ गते राति १२ बजेसम्म थप गरिएको निषेधको आदेशमा किराना तथा खाद्यान्न पसल बिहान ९ बजेसम्म सञ्चालन गर्न पाइने छ । यसअघि पसल सञ्चालनमा रोक लगाइएको थियो । यस्तै विकास निर्माणको कामलाई खुला गरिएको छ । निर्माण सामग्री रातको ९ बजे देखि बिहान ४ बजे सम्ममा मात्र ढुवानी गर्न पाइने छ ।
शैक्षिक संस्था, सार्वजनिक निजी गाडी तथा भोज, सभा समारोहजस्ता धेरै मानिस जम्मा हुने स्थललाई बन्द गर्ने निर्णय यथावत राखिएको छ । घरमै वा बसेको ठाउँमा ७ जनासम्म जम्मा भइ विवाह व्रतबन्ध गर्न पाइने छ । सरकारले तोकेका मापदण्ड पालना गरी कृषिको काम गर्न छुट दिइएको छ । अत्यावश्यक बाहेक सरकारी कार्यालय, सार्वजनिक संस्थान र बीमा कार्यालयहरु बन्द रहने छन् ।
वाणिज्य बैंकहरुले प्रधान कार्यालयबाहेक काठमाण्डौंमा तीनवटा शाखा कार्यालयमात्र खोल्न पाउनेछन् । औषधि तथा खाद्यान्नजस्ता अत्यावश्यक वस्तु र सेवा खरिदमा बाहेक जेठ ३१ गतेसम्म कुनै पनि व्यक्ति घरबाट बाहिर निस्कन नपाइने पनि आदेशमा उल्लेख गरिएको छ । उपत्यकामा वैशाख १६ गतेदेखि आदेश जारी गरी अत्यावश्यकबाहेकका गतिविधिमा रोक लगाइँदै आइएको छ ।