मुख्य समाचार

बहुल राज्य नभएसम्म अधिकार र पहिचानको निम्ति आन्दोलन जारी रहन्छ : राजेन्द्र महतो

rajendra mahato

२२ जेठ, काठमाडौं । उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री राजेन्द्र महतोले नेपाल बहुल राष्ट्रिय राज्य भएकाले त्यसै अनुसारको नियम, कानुन, संविधान र व्यवस्था हुनुपर्ने बताएका छन् ।

शनिबार जनता समाजवादी पार्टी (जसपा)को पार्टी कार्यालय बबरमहलमा नवनियुक्त मन्त्रीहरुलाई स्वागत कार्यक्रमपछि सञ्चारकर्मीहरुसँग प्रतिक्रिया दिँदै उपप्रधानमन्त्री महतोले नेपाल बहुल राष्ट्रिय राज्य भएकाले त्यसैअनुसार नियम, कानुन, संविधान र व्यवस्थामा हिमाल, पहाड, तराई र मधेसको जनताको सहभागिता हुनुपर्ने बताए । बहुलताले भरिएको देशमा एकल जातीय राज्यको प्रभाव परेको भन्दै बहुलतामा लैजानुपर्ने उनले उल्लेख गरे ।

बहुल राज्य नभएसम्म जनताले अधिकार र पहिचानको निम्ति आन्दोलन गरिरहने उनले बताए । “नेपाल विविधताले भरिएको देश हो । विभिन्न जाति, वर्ग, समुदाय, चार वर्ण ३६ जातको फूलबारी भनेको विविधता हो । बहुलता भनेको त्यही हो । त्यसैले बहुल राष्ट्रिय राज्य हो । नेपाल भनेको बहुल राष्ट्रिय राज्य भएकोले त्यहाँ त्योअनुसारको नियम, कानुन, संविधान, व्यवस्था, सहभागिता, हिमाल, पहाड, तराई, मधेसका जनताको हुनुपर्छ,” उनले भने, “विविधताले भरिएको देश, बहुलताले भरिएको देशमा एकल हुनै सक्दैन । बहुलता नै हुन्छ । बहुल भनेको कुनै एक जात, एक वर्ग, एक समुदाय होइन, बहुलता भनेको सबै हो । त्यसैले सबैको राज्य शासनमा प्रतिनिधित्व हुनुपर्छ । पहिचान हुनुपर्छ । र, यो नभएसम्म देशमा जनताले आफ्नो अधिकार, पहिचानका लागि संघर्ष गरिरहन्छ । आन्दोलन गरिरहन्छ पहिचानको लागि ।”

देश सबै नेपालीको हुनुपर्नेमा उनले जोड दिए । “नेपाल सम्पूर्ण नेपालीको हुनुपर्छ । बनाउनुपर्छ । जहाँ–जहाँ कमी कमजोरी छ, जहाँ–जहाँ विभेद छ, जहाँ–जहाँ एकल जातीय राज्य सञ्चालन गर्ने, एकल जातीय हिसाबले जहाँ प्रभाव परेको छ, त्यसलाई बहुलतामा लैजानुपर्छ । यो सबैको देश हो । राज्यको शासन प्रणालीदेखि लिएर सबै ठाउँमा उसको पहिचान, प्रतिनिधित्व हुनुपर्छ,” उनले भने ।

जसपाका वरिष्ठ नेतासमेत रहेका महतोले संविधान अपूर्ण भएको भन्दै अधिकार र पहिचानको निम्ति जसपाले मिसन चलाउने पनि बताए । देशका सबै कुरा ठिकठाक नभएको भन्दै उनले नियम, कानुन, संविधान र शासनमा भएको कमी–कमजोरीलाई संशोधन र सुधार गर्दैै जानुपर्ने बताए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस