
२२ जेठ, काठमाडौं । नेपालको प्रजातान्त्रिक आन्दोलनका एक अथक योद्धा, नेपाली कांग्रेस ज्येष्ठ राजनीतिज्ञ सभाका सदस्य एवं प्रजातन्त्र सेनानी ८४ वर्षीय महेश्वरलाल श्रेष्ठको आज बिहान काठमाडौंको ओम अस्पतालमा उपचारका क्रममा निधन भएको छ ।
नेपाली कांग्रेस चितवनका सल्लाहकार समितिका संयोजक समेत रहेका स्वर्गीय श्रेष्ठ नेपाली कांग्रेसमा एक सरल र निष्ठावान नेताका रुपमा चिनिन्थे । बीपी कोइराला, सुवर्णशमशेर राणा, गणेशमान सिंहलगायत कांग्रेस शीर्ष नेताहरुसँग सहयात्रीको रुपमा रहेर उनले नेपालमा प्रजातन्त्र प्राप्तिका लागि भएका संघर्ष र आन्दोलनहरुमा सक्रिय योगदान पुर्याएका थिए ।
तत्कालीन पञ्चायती व्यवस्थाले उनको सर्वस्वहरण गरेको थियो । लामो समयसम्म प्रवासमा बस्नुका साथै उनले जेल जीवनसमेत व्यतीत गरेका थिए । उनको निधनप्रति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गरेका छन् ।