
२५ जेठ, काठमाडौं । भारतमा कोरोनाभाइरसको संक्रमण दिनदिनै घट्दै गइरहेको छ । अप्रिल र मेमा कोरोनाको दोस्रो लहरले आक्रान्त भएको भारतमा पछिल्लो समय दैनिक संक्रमितसँगै मृत्युदर पनि ओह्रालो लागेको छ ।
६८ दिनपछि सोमबार भारतमा पहिलो पटक १ लाखभन्दा कम संक्रमित थपिएका हुन् । टाइम्स अफ इन्डियाका अनुसार सोमबार ८६ हजार १ सय ६१ जना कोरोना संक्रमित थपिएका छन् । यो गत अप्रिल १ यता दैनिक थपिएका संक्रमितहरूमा सबैभन्दा कम संख्या हो ।
मे ६ मा भारतमा एकैदिन ४ लाख १४ हजार मानिसमा संक्रमण पुष्टि भएको थियो । यस्तै सोमबार दैनिक मृत्यु पनि दुई हजारभन्दा मुनि झरेको छ। सोमबार भारतभरि १ हजार ८ सय ६७ जनाको मृत्यु भएको छ । यो अप्रिल १९पछि भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या दैनिक २ हजारभन्दा माथि थियो ।
कोरोनाका नयाँ संक्रमित कम हुँदै गएपछि विभिन्न राज्यहरूले जारी गरेका प्रतिबन्धहरू खुकुलो बनाउन थालेका छन् । विज्ञहरूले भने संक्रमण घटेकाले दोस्रो लहर पिकबाट ओह्रालो लागेको देखिए पनि राज्यपिच्छे फरक-फरक अवस्था भएकाले जनजीवन सामान्य बनाउनुअघि सावधानी अपनाउनु पर्ने बताएका छन् ।
भारतमा अहिलेसम्म २ करोड ९० लाखलाई कोरोना संक्रमण भएको छ भने ३ लाख ५१ हजारले ज्यान गुमाएका छन् ।